महानगर कप ब्याडमिन्टन : बबिश र अजारेन्का च्याम्पियन, मिक्स डबल्सको उपाधि वडा १५ लाई

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको ‘काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ । प्रतियोगितामा वडा नं. १५ ले दुई विधाको उपाधि जित्दै आफ्नो वर्चस्व कायम गरेको छ ।

काठमाडौं– १५ स्थित एनओसी भूकम्प स्मृति कभर्ड हल, डल्लु आवासमा आइतबार सम्पन्न फाइनल खेलमा महिला एकलतर्फ अजारेन्का शेरचन र मिक्स डबल्सतर्फ अनिश आर तुलाधर तथा विद्या श्रेष्ठको जोडी च्याम्पियन बने । पुरुष एकलको उपाधि भने वडा नं. १० का बबिश थापाले जिते ।

पुरुष एकल फाइनलमा बबिशले वडा नं. १५ का स्वयम मानन्धरलाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि उचाले । च्याम्पियन बबिशले  ३२ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता स्वयमले २० हजार रुपैयाँ हात पारे । महिला एकलको उपाधि भिडन्तमा वडा नं. १५ की अजारेन्काले वडा नं. ६ की शिस्तता कुइँकेललाई २१–११ र २१–९ ले हराइन् । उनले ३२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् भने उपविजेता शिस्तताले २० हजार रुपैयाँमा चित्त बुझाइन् ।

मिक्स डबल्स फाइनलमा अनिश आर तुलाधर र विद्या श्रेष्ठको जोडीले सक्षम ढकाल र विभा थापाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । विजेता टोलीले ४० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ शीर्ष आठ स्थानसम्म र मिक्स डबल्समा पनि शीर्ष आठ टोलीसम्मलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । तीनै विधामा गरी कुल दुई लाख ८२ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

विजेताहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव राजीव श्रेष्ठ, काठमाडौं नगरपालिका सामाजिक विकास समितिका सभापति रामकुमार केसी तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका सचिव दीपक थापाले ट्रफी, पदक र चेक प्रदान गरेका थिए ।

यसैबिच समापन समारोहमा ब्याडमिन्टनका पूर्वखेलाडी एवं प्रशिक्षक कुमार मोहनबहादुर शाहीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो । कुल ३६ लाख बजेट खर्च भएको प्रतियोगिता राजधानीकै सबैभन्दा ठुलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ । प्रतियोगिताले ३२ वटै वडालाई एउटै खेलमञ्चमा जोड्ने उद्देश्य बोकेको थियो ।
 

सुझावित समाचार