- आज राति पूर्व र मध्यनेपालमा ठुलो पानी पर्ने सम्भावना
- मंगलबार रातिबाट अझ सक्रिय हुनेछ मनसुन
मनसुन भित्रिएको बाह्रौँ दिन मंगलबार देशभर एकसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढेसँगै मंगलबार देशैभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।
नेपालमा ५ असारमा कोशीबाट मनसुन भित्रिएको थियो । आइतबारदेखि नै वर्षाका गतिविधि बढेका छन् । यो गतिबधी मंगलबार र बुधबार देशैभर फैलिएर एकसाथ वर्षा हुने आंकलन गरिएको छ । वर्षाको गतिबिधी भने एक सातासम्म रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए ।
‘बंगालको खाडीमा न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको क्षेत्र) बनेर उत्तरपश्चिम सरिरहेको छ । यो प्रणाली नेपालको तराईनजिक हुने र देशभर वर्षा गराउने आकलन छ,’ मौसमविद् अधिकारीले भने, ‘आइतबारदेखि वर्षाको गतिविधि बढेको छ । अब देशभर मनसुन विस्तार हुने तथा मंगलबार र बुधबार सबैतिर पानी पर्ने देखिन्छ । यसमा पनि बिहान र राति बढी पानी पर्नेछ ।’
महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै दुई दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठुलो वर्षा तथा एक–दुई स्थानमा भीषण वर्षाको प्रक्षेपण गरेको छ । महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाडी भूभागलाई नक्सामा सुन्तला रंगको चिह्नमा वर्गीकरण गरेको छ । यी क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ ।
तराईमध्ये मधेश प्रदेश र सुदूरपश्चिमका कैलाली, कञ्चनपुरबाहेक सबै क्षेत्रमा सुन्तला रंगको संकेत चिह्न दिइएको छ । तर, ती क्षेत्रमा पनि राम्रो पानी पर्ने आकलन रहेको मौसमविद् अधिकारीले बताए ।महाशाखाले औपचारिक रूपमा बुधबारसम्मको मौसम प्रक्षेपण गरे पनि बिहीबार, शुक्रबार र शनिबार पनि वर्षा हुने मौसमविद्हरूले बताएका छन् ।
‘हामीले औपचारिक रूपमा बुधबारसम्मको प्रक्षेपण गरेका हौँ । तर, त्यसपछि सुक्खा हुने भन्ने होइन । बिहीबार, शुक्रबार र शनिबार पनि पानी पर्नेछ । मंगलबार र बुधबारभन्दा चाहिँ अलि कम पर्ला,’ उनले भने ।यसपालि औसत समयभन्दा ६ दिन ढिलो भित्रिएको मनसुन १० दिनसम्म पनि लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुन सकेको छैन ।
मंगलबार रातिबाट अझ सक्रिय हुनेछ मनसुन
मंगलबार दिउँसो पहाडी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन छ । तराईमा पानी पर्नेछ । तर, कोशीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
मंगलबार रातिदेखि अझ सक्रिय हुने मनसुनी प्रणालीले बुधबारसम्म पानी पार्नेछ । मंगलबार राति र बुधबार कोशीका पहाडी र हिमाली भूभाग धेरै स्थान, अरू प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म पानी पर्नेछ । तर, तराईका धेरै स्थानमा पानी पर्ने आकलन छ । कोशीका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेश, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा पनि भारी वर्षाको आकलन छ । कोशी, बागमती र गण्डकी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
आज राति पूर्व र मध्यनेपालमा ठुलो पानी पर्ने सम्भावना
आज (सोमबार) देशभर बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ । तराई भूभागका केही स्थानमा मात्र वर्षा हुने देखिन्छ । कोशीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।
सोमबार राति भने कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि पानी पर्ने देखिन्छ । राति मधेश तथा कोशी, बागमती, गण्डकीका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ । कोशीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
मौसमविद् सञ्जीव अधिकारी भन्छन्–अब देशभर मनसुन विस्तार हुने तथा मंगलबार र बुधबार सबैतिर पानी पर्ने देखिन्छ बंगालको खाडीमा
न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको क्षेत्र) बनेर उत्तरपश्चिम सरिरहेको छ । यो प्रणाली नेपालको तराईनजिक हुने र देशभर वर्षा गराउने आकलन छ । आइतबारदेखि वर्षाका गतिविधि बढेका छन् । अब देशभर मनसुन विस्तार हुने तथा मंगलबार र बुधबार सबैतिर पानी पर्ने देखिन्छ । यसमा पनि बिहान र राति बढी पानी पर्नेछ ।