प्य्रांक भिडियो बनाएर झुट्टा अफवाह फैलाउने महिला प्रहरी नियन्त्रणमा

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

प्य्रांक भिडियो बनाउने क्रममा झुट्टा अफवाह फैलाएर शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आइतबार  साँझ करिब ६ बजे ललितपुर महानगरपालिका– ७, चाङ्गाथलीस्थित युनाइटेड कलोनीनजिक डेरा गरी बस्ने पर्वत जिल्ला फलेबास नगरपालिका– १० घर भएकी २५ वर्षीया मन्दिरा गुरुङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरी साथीको हत्या गरेजस्तो दृश्य देखाएकी थिइन्।

घटनापछि सुस्मिता जिरेलले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरेपछि प्रहरी प्रभाग लुभुबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलमा खोजतलास गर्दा हात तथा ओछ्यानमा अबिर दलिएको अवस्थामा भेटिएको थियो।

प्रहरीको सोधपुछका क्रममा उक्त दृश्य वास्तविक नभई सामाजिक सञ्जालका लागि प्य्रांक भिडियो बनाइएको र त्यसबाट झुट्टा अफवाह फैलिएको खुलेको प्रहरीले जनाएको छ।

यसरी झुट्टा सूचना तथा अफवाह फैलाएर सार्वजनिक शान्ति र सुरक्षामा खलल पुर्याएको आरोपमा मन्दिरा गुरुङलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

सुझावित समाचार