उदयपुरमा २५ प्रतिशत धान रोपाइँ सम्पन्न

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

असारको दोस्रो हप्ता सुरु हुँदासम्म उदयपुरमा २५ प्रतिशत धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक कुल १३ हजार ११२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेकोमा हालसम्म तीन हजार २७८ हेक्टरमा रोपाइँ सकिएको हो।

ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लाका मुख्य धान उत्पादन हुने भित्री मधेसका बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा भर्खरै मात्र रोपाइँ सुरु भएको छ।

उनले भने, ‘यस क्षेत्रमा रोपाइँ सुरु हुने समय भर्खर भएको हो। साना–साना आकाशे वर्षा पनि भइरहेका छन्। त्यसैले अब एक साताभित्र रोपाइँको गति उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेका छौँ।’

यादवका अनुसार पहाडी क्षेत्रमा भने अहिले धमाधम रोपाइँ भइरहेको छ। कटारी नगरपालिकाको पहाडी क्षेत्र, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिकालगायत महाभारत क्षेत्रका अधिकांश स्थानमा रोपाइँ जारी रहेको र धेरै ठाउँमा अन्तिम चरणमा पुगेको उनले बताए।

यता भित्री मधेश क्षेत्रमा पर्ने त्रियुगा नदी तथा अन्य खोलाका किनारमा पनि किसान रोपाइँमा व्यस्त देखिएका छन्। कतै किसान चैते धान भित्र्याएर रोपाइँको तयारीमा जुटेका छन् भने कतै मकै भित्र्याउने कामसँगै खेत तयार पार्ने चटारो छ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष ०८२/८३ मा जिल्लाको १२ हजार ९१२ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। उक्त क्षेत्रफलबाट ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांक छ।

See More On

सुझावित समाचार