कैलाशमा २० वर्षपछि विवाह गर्ने १० चेली नगद २० हजारसहित सम्मानित

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

मकवानपुरको विकट कैलाश गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने १० जना चेलीलाई नगदसहित सम्मान गरेको छ । बालविवाह न्यूनीकरण, किशोरी शिक्षामा निरन्तरता र जिम्मेवार सामाजिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘चेली प्रोत्साहन कार्यक्रम’अन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको १८औँ गाउँसभाको अवसरमा आयोजित विशेष कार्यक्रममा गाउँपालिकाले सम्मानपत्रसहित नगद प्रदान गर्दै १० जना चेलीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नम्बर २ की मुना चेपाङ, वडा नम्बर ४ की शान्तिमाया मुक्तान, वडा नम्बर ६ की सावित्री अधिकारी, वडा नम्बर ९ की संगीता घलान, आरती उप्रेती, सविना बर्तौला र अनिशा थापा तथा वडा नम्बर १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले केही वर्षदेखि नीति तथा कार्यक्रममै समेटेर ‘चेली प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार कक्षा १२ उत्तीर्ण गरी कम्तीमा २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने चेलीलाई गाउँसभामार्फत सार्वजनिक रूपमा सम्मान गरिन्छ । यसले किशोरीलाई उच्च शिक्षा हासिल गर्न, आत्मनिर्भर बन्न र कानुनी उमेरपछि मात्रै विवाह गर्ने संस्कार विकास गर्न सकारात्मक सन्देश दिएको अध्यक्ष मुक्तानको भनाइ छ ।

गाउँपालिकाले यस कार्यक्रमलाई आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममा समेत निरन्तरता दिएको छ । यस्तो प्रोत्साहन कार्यक्रमले बालविवाह न्यूनीकरणसँगै शिक्षित र सशक्त महिला निर्माणमा टेवा पुग्नेछ विश्वास लिइएको अध्यक्ष मुक्तानले बताए ।

सुझावित समाचार