विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे : एमाले

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे : एमाले

तस्बिर : दीपेन्द्र ढुंगाना/ नयाँ पत्रिका

नेकपा एमालेका सांसद पुष्पराज कँडेलले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले गत निर्वाचनका क्रममा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपलाई आधार बनाएर पौडेललाई पक्राउ गरिएको दाबी गरे। उनले सम्पूर्ण विपक्षीलाई तर्साउने र विशेषगरी एमालेलाई बदनाम गर्ने उद्देश्यले पक्राउ गरिएको आरोप लगाए।

‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गरेको हो। गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले पक्राउ गरिएको छ,’ कँडेलले भने।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीले गत साता विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो।

त्यसैगरी, सांसद कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहले गत १७ जेठमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न र संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन माग गरे। ‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ। अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ,’ उनले भने।

सुझावित समाचार