कारागारभित्रै मिटरब्याजको धन्दा : कैदीबन्दीको सुविधा खाएको आरोपमा कांग्रेस नेता गिरी पक्राउ

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

आपराधिक पृष्ठभूमि भएका विराटनगरका कांग्रेस युवा नेता अभिषेक गिरीलाई कैदीबन्दीको सुविधासमेत खाएको आरोपमा पक्राउ परेका छन् । क्राइम फाइलअनुसार गुन्डागर्दीको नाइके बनेर पटक–पटक वर्षौँसम्म जेलजीवन बिताइसकेका र अकुत सम्पत्ति आर्जन गरेका गिरी मोरङ कारागारका कैदीबन्दीको सुविधा चौकीदारसँग मिलेर खाँदै आएको आरोपमा शनिबार पक्राउ परेका हुन् । कैदीबन्दीहरूका अनुसार उनले कारागारभित्रै मिटरब्याजको धन्दा चलाइरहेका छन् ।

प्रहरीले पक्राउ गरेपछि गिरी मुटु रोगको समस्या भएको भन्दै कोशी अस्पताल भर्ना भएका छन् । अपराधकर्म छाडेर समाजसेवामा लागिसकेपछि पनि प्रहरीले राजनीतिक पूर्वाग्रह राखेर झुटो आरोपमा पक्राउ गरेको गिरीले बताए । व्यक्ति अपहरण कसुरमा आठ वर्ष जेल सजाय भुक्तान गरेर बाहिर आएका गिरी तीन वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । ‘गिरी फाउन्डेसन’ नामक सामाजिक संस्था खोलेका गिरीलाई प्रहरीले शनिबार अवैध हतियार राखेको आरोपमा घर घेरा हालेर पक्राउ गरेको थियो । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गिरीलाई बाहिर बसेर जेलभित्रका चौकीदारहरूको साँठगाँठमा कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर दैनिक र अतिरिक्त भत्ता, परिश्रम गरेबापत रकम असुल गर्ने गरेको आरोप छ । पछिल्लोपटक कैदीबन्दीको भत्ताबापतको १६ लाख रुपैयाँ अपचलन गरेको फेला परेपछि गिरीलाई संगठित अपराधको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । ‘जेलबाहिर बसेर पनि गिरीले लाखौँ रकम असुली गरिरहेको प्रमाण फेला परेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । केही दिनमै हामी ठुलो संगठित अपराधको यथार्थ बाहिर ल्याउँछौँ,’ सिडिओ कट्टेलले भने । 

प्रशासनको निर्देशनमा प्रहरीले मोरङ कारागारका चौकीदार रोशन यादवलाई पनि बाहिर निकालेर बयान लिन थालेको छ । चौकीदारलाई बाहिर निकालेपछि शनिबार दिउँसो मोरङ कारागारमा कैदीबन्दीले गिरीको पक्ष र विपक्षमा विभाजित भएर नारावाजी गर्दै तनाव सिर्जना गरेका थिए । एक पक्षले कैदीबन्दीको सुविधा अपचलन गर्ने अभिषेक गिरीलाई कारबाही हुनुपर्ने र चौकीदार यादवलाई बाहिर लान नपाइने भन्दै नारावाजी गरेका थिए । अर्को पक्षले अवैध असुली गर्ने गिरी र चौकीदार यादवको समूहलाई कारबाही हुनुपर्ने माग गर्दै जेलभित्रै प्रदर्शन गरेका थिए । गिरीले चौकीदार यादव समूहको साँठगाँठमा धेरै कैदीबन्दीलाई ऋण दिएको कपाली तमसुक बनाएर मिटरब्याजको धन्दा चलाउँदै आएको स्रोतले बतायो ।

प्रशासनका अनुसार हाल मोरङ कारागारमा एक हजार ९२ पुरुष र १०७ महिला गरी कुल एक हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन् । सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि छुट्टाछुट्टै २५ सयका दरले प्रतिकैदी पाँच हजार रुपैयाँ कपडा भत्ता उपलब्ध गराउँछ । कैदीबन्दीहरूले कारागारभित्र मुढा र गलैँचा बुनेर पनि आम्दानी गर्ने गरेका छन् । पहिले जेलमा बसेर चौकीदार बनी आन्तरिक सत्ता चलाइसकेका गिरीले जेलभित्रको सुविधाको रकम चौकीदारसँग मिलेमतो गरेर अपचलन गरेको आरोप प्रशासनको छ ।

गिरीको ‘क्राइम डायरी’ 
विराटनगरमा बसेर ठेक्कापट्टाको टेन्डर र अन्य गुन्डागर्दीमा कुख्यात थिए अभिषेक गिरी । उनी पटक–पटक गुन्डागर्दी आरोपमा पक्राउ परेर छाडिन्थे । गिरीलाई टेन्डर हत्याउन चाहने निर्माण व्यवसायी र व्यापारीहरूले पेस्की दिएर गुन्डागर्दीमा प्रयोग गराउने गर्थे । सुरुमा अरूको प्रयोगमा आएका गिरीले पछि आफैँ टेन्डर हत्याउने र व्यवसायी, व्यापारी र उद्योगीहरूलाई धम्क्याउने अपहरण गर्ने गरेका थिए । गुन्डागर्दीमा उनको आफ्नै समूह थियो । प्रायः कांग्रेसनिकट भएकाहरूले उनलाई प्रयोग गर्ने गरेका थिए । टेन्डरको गुन्डागर्दीको अर्को पर्शुराम बस्नेत समूहसँग गिरीको शत्रुता थियो । 

टेन्डरको गुन्डागर्दीकै कारण १७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोडबराबरको टेन्डर काण्डमा विराटनगर महानगरपालिका– १४ जतुवाका युवा करण यादवको हत्या भएको थियो । हत्याको मुख्य आरोप गिरीमाथि लागेको थियो । २१ साउन ०६६ मा उनी पुर्पक्षका लागि जेल गएका थिए । गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालतपरिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला गर्दा उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो । कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दा आतंक चलाएर फिरौती असुल्ने गरेको आरोप लागेपछि तत्काल उनलाई २३ चैत ०७४ मा डिल्लीबजार कारागार सरुवा गरिएको थियो । व्यक्तिहत्या अरोपमा जेल परेका गिरी मोरङ अदालतबाट सफाइ पाएपछि छाडिएका थिए ।

जेलबाट रिहा भएपछि उनी कांग्रेस प्रवेश गरे । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनपछि उनी पुनः पुरानै धन्दामा फर्किए । व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय गरेको थियो । गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएको थियो ।

See More On

सुझावित समाचार