जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गअन्तर्गत निर्माण कार्य अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयले १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै कालिकोट, जुम्ला र मुगु जिल्लामा रहेका ठेक्काहरू सम्झौताअनुसार समयमा सम्पन्न नभएकाले ठेक्का अन्त्यको प्रक्रिया सुरु गरिएको जनाएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले सम्झौतापछि पनि काममा अपेक्षित प्रगति नगरेकाले कानुनी प्रक्रिया अघि बढाइएको हो।
रद्द प्रक्रियामा परेका ठेक्कामध्ये १२ वटा कालिकोट, तीनवटा जुम्ला र एउटा मुगु जिल्लाका हुन्। यी आयोजना आर्थिक वर्ष ०७४/७५ देखि ०८२/८३ सम्म विभिन्न समयमा सम्झौता गरिएका थिए।
सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतरा (महतराले) निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गरिए पनि बेवास्ता गरिएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का अन्त्यको निर्णय गरिएको बताए।
उनका अनुसार ठेक्का रद्दसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी तथा पेस्की जमानत जफत गर्ने, पेस्की रकममा १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।
यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत निर्माण कार्य अलपत्र परेका १० वटा रुग्ण आयोजनाका ठेक्का सडक डिभिजन कार्यालयले रद्द गरिसकेको जनाएको छ।