कांग्रेस नेताको रूपमा चिनिएका आपराधिक पृष्ठभूमिका विराटनगरका युवा अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। कैदीबन्दीको भत्ता र श्रमबाट आएको रकम हिनामिना आरोपमा विराटनगर- ८, मधुमारास्थित आफ्नै घरबाट प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो। मोरङ प्रहरीको टोलीले शनिबार बिहानैदेखि अवैध हतियार राखेको आरोपमा घर घेरा हालेर गिरीलाई पक्राउ गरेको हो। खानतलासीका क्रममा प्रहरीले गिरीको घरबाट अवैध हतियार वा अन्य अवैध वस्तु भने फेला पारेको छैन।
गिरी केही वर्ष पहिले मात्रै अपराधको सजाय भुक्तान गरेर मोरङ कारागारबाट मुक्त भएका थिए।कारागारमा नाइके रहेका उनले आन्तरिक अवैध सत्ता सञ्चालन गर्ने गरेको र बाहिर निस्केपछि पनि कैदीबन्दीहरूसँग अझै असुली गरिरहेको प्रहरीको आरोप छ। मोरङ प्रहरीका अनुसार कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता, जाडो–गर्मी भत्ता र कैदीबन्दीले श्रम गरेर कमाएको पैसा उनले हालका चौकीदार राकेश यादवसँग मिलेर फिरौती लिने गरेका थिए।
गिरीले पछिल्लोपटक जेलबाट निस्किएप्छि आफूलाई समाजसेवी देखाएर नेपाली कांग्रेसको विराटनगर महानगर समितिको सभापतिमा उम्मेदवारी पनि घोषणा गरेका थिए। उनी विभिन्न ठेक्कापट्टा कारोबारमा पनि संलग्न थिए। उनले समाजसेवाका लागि भनेर आफ्नै अध्यक्षतामा गिरी फाउन्डेसन नामको समाजिक संंस्था पनि निर्माण गरेका छन्। घर घेरा हालेर प्रहरीले पक्राउ गरेपछि गिरीले आफूलाई राजनैतिक प्रतिशोध साधेर झुटो मुद्दा लगाएर पक्राउ गरेको बताए।