राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले आफ्नो पार्टीको राजनीतिक अभिव्यक्ति र गतिविधिबाट कुनै पनि राजनीतिक दल, प्रबुद्ध वर्ग वा लोकतान्त्रिक संस्थालाई भयभीत नहुन आग्रह गरेका छन् । पार्टीभित्र अझै राजनीतिक परिपक्वता अभिवृद्धि चाहिएको स्वीकार गर्दै उनले रास्वपा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र जिम्मेवार राजनीतिक संस्कारप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
‘एउटा सत्तारूढ दल भर्खरै आएको दलको राजनीतिक अपरिपक्वता कहीँकतै मेरालगायत तपाईं साथीहरूले गर्ने अभिव्यक्ति, व्यवहार, संसदीय अभ्यास, पार्टीगत अभ्यासलगायत यी सबै कुराले यिनीहरू अझै आलोकाँचो छन्, लोकतन्त्र अप्ठ्यारोमा पार्छन् कि, गम्भीर छैनन् कि ? यी प्रश्नहरूको सामना गर्नुपरेको छ,’ उनले भने, ‘मैले भन्नैपर्छ– राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने देखाउने कुरामा चुकेका छौँ । यो कुरा मनन गर्नुपर्छ । हाम्रा व्यवहार, अभिव्यक्ति, संसदीय अभ्यासहरूमा देखाउनुपर्नेजति परिपक्वता देखाउन सकेका छैनौँ । तर, हाम्रो नियत, देशभक्ति र राष्ट्रभक्तिमा किञ्चित शंका नगर्नुहोला ।’
सभापति लामिछानेले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर हुन नदिने गरी काम गर्ने जिम्मेवारी आएकोसमेत बताए । ‘लोकतान्त्रिक संस्थालाई कमजोर हुन दिनुहुँदैन । यदि ती संस्था कमजोर भए देश नै दुर्घटनातर्फ जान्छ । देश दुर्घटनामा गयो भने घाटा कुनै एक पार्टीलाई मात्र होइन, सिंगो राष्ट्र र भावी पुस्तालाई हुन्छ,’ उनले भने, ‘त्यसैले रास्वपाको प्रत्येक सदस्य, प्रत्येक नेता र प्रत्येक सांसदले जिम्मेवार भएर काम गर्नुपर्छ । हामी जिम्मेवार छौँ भन्ने अनुभूति मतदातादेखि समग्र समाजले गर्नुपर्छ । रास्वपा साँच्चै परिपक्व राजनीतिक शक्ति बनेको छ भन्ने विश्वास दिलाउने गरी काम गर्न आवश्यक छ । परिपक्व हुन नसकेको राजनीतिक शक्तिलाई न देशले, न इतिहासले नै बोक्छ ।’
शासकीय स्वरूपबारे आफ्नो पार्टीले उठाउँदै आएको बहसलाई व्यवस्था परिवर्तनको नभई सुधार र पुनरवलोकनको प्रस्तावका रूपमा बुझ्न उनले आग्रह गरे । ‘हामीले शासकीय स्वरूपका विषयमा केही प्रश्न उठाएका छौँ । भविष्यमा अवसर र सामर्थ्य प्राप्त हुँदा पुनरवलोकनका क्रममा यी विषय हाम्रो एजेन्डा बन्न सक्छन् । त्यसैले सम्भावनाको ढोका कहिल्यै बन्द गर्नुहुँदैन,’ उनको भनाइ छ, ‘हामी यही संवैधानिक व्यवस्थाभित्र रहेर जनताको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यका साथ राजनीतिमा आएका हौँ भन्नेमा स्पष्ट छौँ ।’