नेपाल पर्यटन बोर्डको आयोजनामा धनगढीमा आतिथ्य र स्वच्छतासम्बन्धी तालिम सुरु भएको छ। होटेल व्यवसायी महासंघसँगको समन्वय र होटेल व्यवसायी संघ कैलालीको सहकार्यमा बोर्डले तालिमको आयोजना गरेको हो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा यहाँका विभिन्न होटेलमा कार्यरत ४० जना प्रशिक्षार्थी सहभागी छन्। सेफसहित चार प्रशिक्षकले तालिमको सहजीकरण गरिरहेका छन्।
तालिममा सहभागीहरूलाई होटेलमा पाहुनालाई आतिथ्यता, सत्कार तथा खानामा स्वच्छताबारे प्रशिक्षण दिइने होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले जानकारी दिए। छोटो अवधिको तालिम भए पनि सहभागीहरूले केही न केही सिक्ने अपेक्षा गरिएको उनले बताए।
उद्घाटन कार्यक्रममा होटेल व्यवसायी महासंघका पर्यटन उपाध्यक्ष कमलबहादुर बमले होटेल व्यवसाय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताए। उनले होटेल क्षेत्रले राज्यलाई बर्सेनि ठुलो कर तिर्नुका साथै धेरैलाई रोजगारी दिएको बताए।
आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख भीमप्रसाद काफ्लेले होटेल व्यवसाय सञ्चालन गर्दा कानुनको पालना गर्न र श्रमिकको हकहितमा पनि ध्यान दिन आग्रह गरे। राज्यले दिएको कर छुट सुविधा उपभोग गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे।