महानगरद्वारा शुक्रराज अस्पताललाई १८ सय भाइल एन्टिरेबिज खोप हस्तान्तरण

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार आठ सय भाइल एन्टिरेबिज खोप उपलब्ध गराएको छ। शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पताल पुगेर खोप हस्तान्तरण गरेकी हुन्।

‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ। खोपको अभावले आउने विपतको सामनाका लागि प्रतिकार्य हो,’ उनले भनिन्, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो। यसमा लक्षण पर्खिन सकिँदैन। लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन। यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ।’

अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा दैनिक दुई सय जनाभन्दा धेरै व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउने गरेको जानकारी दिए। उनका अनुसार महानगरपालिकाले प्रदान गरेको खोपले करिब नाै दिनको सेवा सञ्चालन गर्न पुग्छ।

अस्पतालले महानगरसँग खोप माग  गरेपछिको सात दिनभित्र महानगरपालिकाले खोप प्रदान गरेको हो। यो सहयोगले अस्पतालको सेवालाई थप सहज बनाएको डा. बाँस्तोलाको भनाइ छ।

सुझावित समाचार