राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले लोकतन्त्रलाई कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको मतले सुरक्षित र सुदृढ बनाउने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै लोकतन्त्रको मूल चरित्र, नीति र विधिको संरक्षण तथा सुदृढीकरणका लागि आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको स्पष्ट पारे।
उनले भने, ‘लोकतन्त्रलाई कोठाभित्रको सहमतिले होइन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउँछ। महामन्त्रीमा मेरो उम्मेदवारी लोकतन्त्रको यही चरित्र, नीति र विधिका लागि हो।’
कार्कीले पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी, विधिसम्मत र प्रतिनिधिमूलक हुनुपर्नेमा जोड दिँदै आफ्नो उम्मेदवारी त्यसैको पक्षमा रहेको बताए। कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवारलाई समर्थन गर्ने अभ्यासले पार्टीको विधि, नीति र चरित्रमाथि प्रश्न उठाएको बताएका छन्।
कार्कीले यही महाधिवेशनको उद्घाटनका क्रममा सभापतिले ‘अर्काको लागि भोट माग्ने व्यक्ति रास्वपाको पक्का सदस्य हुन सक्दैन’ भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै त्यसलगत्तै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको घटनाले सभापतिको भनाइलाई नै कमजोर बनाएको टिप्पणी गरे।
उनले यस्तो अभ्यासले पार्टीले विगतदेखि आलोचना गर्दै आएको गठबन्धन र प्यानल संस्कृतिको झल्को दिएको भन्दै यसलाई गलत अभ्यासका रूपमा चित्रण गरे। ‘यो गलत भयो, अब यसो नगरौँ,’ उनले भने।
कार्कीले चुनाव आउने–जाने प्रक्रिया भए पनि पार्टीको विधि, नीति र चरित्र दीर्घकालीन हुने उल्लेख गर्दै त्यसलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताए। नेतृत्वले जालझेल, गुटबन्दी र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने गतिविधि गर्न नहुने उनको भनाइ थियो।
उनले प्रतिनिधिहरूले आफ्नै श्रम, समय र आर्थिक स्रोत खर्च गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै उनीहरूको स्वतन्त्र रूपमा चुनावमा भाग लिने अधिकार कुनै पनि कारणले खोस्न नहुने बताए।