सुदूरपश्चिम विश्वविद्यालय छैटौँ दीक्षान्त समारोह : कञ्चनपुरका चार पत्रकार दीक्षित

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

कञ्चनपुरका चार पत्रकार दीक्षित भएका छन् । शुक्रबार महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोहमा जिल्लाका चार पत्रकार दीक्षित भएका हुन् । युवा पत्रकार सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद र सन्तोषी पाण्डेय दीक्षित भएका हुन् । 

कञ्चन आवाजका सम्पादकसमेत रहेका श्रेष्ठले व्यवस्थपन संकायमा मास्टर्स अफ फिलोसपी इन म्यानेजमेन्ट, पुलेसो डटकमका सम्पादकसमेत रहेका पत्रकार गिरीले मानविकीय संकाय अर्थशास्त्रमा स्नाकोत्तर, फारवेस्ट पोस्ट दैनिककी सम्पादक कल्पना साउदले मानविकीय संकाय पत्रकारिता विषयमा स्नातक र सुदूर डायरीकी पत्रकार सन्तोषी पाण्डेयले पनि मानविकी संकाय पत्रकारिता विषयमा स्नातक उत्तीर्ण गरेका छन् । 

प्रेस चौतारी कञ्चनपुरका अध्यक्षसमेत रहेका मदन गिरी, प्रेस सेन्टरका नेता सुरज श्रेष्ठ, प्रेस सेन्टरकर्मीद्वय साउद, पाण्डेयले शैक्षिक क्षेत्रमा समेत आफूलाई अब्बल बनाउँदै लगेका छन् । उच्च शिक्षा अध्ययनसँगसँगै पत्रकारिता गर्दै आएका चारै पत्रकारले थप समाजिक दायित्व वृद्धि भएको बताएका छन् ।

उनीहरूसँगै अघि वा पछि पनि कञ्चनपुरका थुप्रै पत्रकार दीक्षित भएका छन् । सहकुलपतिसमेत रहेका शिक्षा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतविद् साहित्यकार प्राडा तुलसीप्रसाद जोशी (दिलसी दिवस)कै प्रमुख आथित्यमा भएको कार्यक्तममा दुई हजार ४८९ विद्यार्थी दीक्षित हुन लागेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले क्रमिक रूपमा विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उन्नयन गर्दै आएको बताए । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यव्यस्थताले उपस्थिति हुन नसकेकाले उपकुलपति पाठकले शुभकामना सन्देश सुनाएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिस्ट्रार गोविन्द विष्टले दीक्षित भएका विद्यार्थीलाई आर्जन गरेको ज्ञानसिप जीवनोपयोगी गर्न सुझाव दिएका छन् । दीक्षित समारोहमा सहभागी विद्यार्थीका अभिभावक हर्षित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १६ वर्षसम्म छैटौँ समारोह गर्न सफल भएको छ । 

सुझावित समाचार