मूल्य बढ्दा महिनामै पाँचपटक इन्धनको भाउ बढाउने निगम घट्दा घटाउँदैन

कच्चा तेलको भाउ ११७ डलरबाट ७० डलरमा झरिसक्दा पनि निगमको आनाकानी

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण
  • चैतमा आइओसीले दुईपटक पेट्रोलियमको मूल्य बढाएको थियो, तर निगमले १, ११, १७, १९ र २६ गते मूल्य बढायो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ठुलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन । गत चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै पाँचपटक मूल्य बढाएको निगमले अहिले मूल्य घटाउने वेला भने नियमित कार्यतालिकाअनुसार आउँदो १ जुलाई अर्थात् १७ असारसम्म पर्खनुपर्ने बताएको छ ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले प्रत्येक महिनाको १ र १५ तारिखमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्य प्राप्त हुने र सोहीअनुसार मूल्य समायोजन हुने बताए । ‘प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने नियमित कार्यतालिका नै छ । अबको एक सातामा आइओसीले नयाँ मूल्य पठाउँदै छ । त्यसपछि मूल्य समायोजनको निर्णय हुन सक्छ,’ उनले भने । आयल निगमले मूल्य समायोजनका लागि ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ जारी गरेको छ ।

सो कार्यविधिले आइओसीबाट नयाँ मूल्य पाएपछि नेपालमा मूल्य समायोजन हुने उल्लेख छ । चैतमा दुईपटक आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो । तर, निगमले १, ११, १७, १९ र २६ चैतमा गरी पाँचपटक मूल्य बढाएको थियो । त्यसपछि ३ वैशाखमा पनि डिजेल ३० रुपैयाँ र हवाई इन्धन पाँच रुपैयाँ मूल्य बढाएको थियो । 

१ चैतअघि पेट्रोल एक सय ५७, डिजेल र मट्टीतेल समान एक सय ४२, हवाई इन्धन एक सय २७ प्रतिलिटर तथा खाना पकाउने ग्यास १९ सय १० रुपैयाँ प्रतिलिटर थियो । तर, चैत र वैशाखमा ६ पटक गरेर मूल्य बढाई पेट्रोल दुई सय १९, डिजेल र मट्टीतेल दुई सय ३७, हवाई इन्धन दुई सय ६९ प्रतिलिटर र ग्यास २१ सय १० रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । 

१८ वैशाखमा मूल्य समायोजन गर्दा पेट्रोल दुई रुपैयाँ घटाएर दुई सय १७ र डिजेल १२ रुपैयाँ घटाएर दुई सय २५ कायम गरिएको छ । त्यसयता ३ वैशाखमै निर्धारण भएको मूल्य कायम छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण बजारभाउ अकासिएर उपभोक्ता पीडित भइरहे पनि निगमले भने तत्कालै राहत दिन नसकिने स्पष्ट पारेको छ । 

विगतमा घाटा थेग्न हप्तापिच्छै मूल्य बढाएको तर्क गरेको निगमले अहिले पनि घाटा यथावत् रहेकाले मूल्यमा तत्कालै सुधार गर्न नसकिने जनाएको हो । निगमका प्रवक्ता ठाकुरले विगतमा मूल्य बढाउँदा अन्तर्राष्ट्रिय बजारभाउअनुसार नेपालमा समायोजन नगरिएकोतर्फ पनि ध्यान दिनुपर्ने बताए । ‘चैतमा एकैपटक लिटरमा ९० देखि ९५ रुपैयाँ प्रतिलिटर मूल्य बढेर आएको थियो । त्यतिवेला नेपाली बजारमा थोरै–थोरै मात्र मूल्य बढाएको थियो,’ उनले भने, ‘धेरैपटक मूल्य बढाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढाइएका कारण निगम निरन्तर घाटामा छ ।’ उनले आउँदो १७ असारमा नयाँ मूल्यसूची पाएपछि भने मूल्य घटाउने वा बढाउने विषयमा आवश्यक निर्णय लिइने बताए ।

उनका अनुसार मूल्य स्थिरीकरण कोषमा रहेको १९ अर्ब र विगतको सञ्चित नाफाबापतको १७ अर्ब रुपैयाँ सकिएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ठुलो अन्तरले बढ्दा नेपालमा त्यही अनुपातमा बढाइएन, जसका कारण आयल निगमलाई घाटा भएको छ,’ उनले भने, ‘महँगोमा किनेर सस्तोमा बेच्दा आइओसीलाई भुक्तानी गर्नका लागि यो वर्ष अतिरिक्त ३६ अर्ब रुपैयाँ खर्च भएको छ ।’

तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ठुलो अन्तरले गिरावट आएकाले पेट्रोलियम पदार्थको भाउ तत्काल घटाउनुपर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम विन्दु ११७.६३ प्रतिब्यारेलबाट घटेर ६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको देखिन्छ । यति ठुलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने होइन र ?’

आयल निगमले प्रशोधन शुल्क नघटेको कारण देखाउँदै मूल्य घटाउन नखोज्नु उपयुक्त नभएको पनि उनको भनाइ छ । ‘कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समयअन्तर अवश्यक पर्छ । तर, कच्चा तेलको मूल्यमा आएको यति ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ,’ उनले भने ।

मूल्यमा गिरावट आएको लामो समय बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई, तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आमउपभोक्ता थप मारमा परेको उनको भनाइ छ । सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लंग पारेको उनले बताए । 

त्यस्तै, उपभोक्ता अधिकारकर्मी, माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको लाभ तुरुन्तै नेपाली उपभोक्ताले पाउने गरी इन्धनको भाउ घटाउनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपालमा बढाइहाल्ने, तर घटेका वेला भने अनेकौँ बहाना झिक्ने प्रवृत्ति ठिक होइन,’ उनले भने, ‘बढ्दो महँगीले आक्रान्त उपभोक्तालाई तत्काल राहत दिन आयल र सरकारले मूल्य घटाइहाल्नुपर्छ ।’ विगतमा मूल्य बढाउन सरकारले जसरी हस्तक्षेप गरेको थियो, अहिले मूल्य घटाउन पनि सरकार क्रियाशील हुनुपर्ने उनको माग छ ।
 

See More On

सुझावित समाचार