प्रेरक प्रसंग : पैसाको सदुपयोग

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठुलो बजारको बाटो हुँदै कतै हिँडिरहेका थिए । बाटामा उनले १४–१५ वर्षको एउटा केटालाई भेटे । नांगा खुट्टा, फाटेका लुगा र निन्याउरो अनुहार उसको हालत बताउनका लागि पर्याप्त थियो । उसले विद्यासागरसँग गिड्गिडाउँदै भन्यो, ‘कृपया, मलाई एक आना दिनुस्, म दुई दिनदेखि भोको छु ।’

ईश्वरचन्द्रले त्यस केटालाई भने, ‘ठिक छ, म आज तिमीलाई एक आना दिन्छु, तर तिमी भोलि के गर्छौ ?’ ‘भोलि म अरू कसैसँग माग्नेछु,’ त्यो केटाले जवाफ दियो । ‘यदि मैले तिमीलाई चार आना दिएँ भने तिमी के गर्छौ ?’ ईश्वरचन्द्र विद्यासागरले उसलाई फेरि सोधे । ‘त्यसमा एक आनाको म खाना खान्छु र बाँकी रहेको तीन आनाको सुन्तला ल्याएर यही सडकमा बसेर बेच्नेछु,’ त्यस केटाले भन्यो । ‘यदि मैले एक रुपैयाँ दिएँ भने नि ?’ यदि तपाईंले ‘एक रुपैयाँ दिनुभयो भने म व्यवस्थित रूपले काम गर्नेछु,’ त्यो केटाले खुसी हुँदै भन्यो ।

ईश्वरचन्द्र विद्यासागरले उसलाई एक रुपैयाँ दिए । त्यो केटाले त्यो पैसाको सामान ल्याएर बेच्न थाल्यो । धेरै दिनपछि एकदिन ऊ आफ्नो पसलमा बसिरहेको थियो । तब उसको दृष्टि ईश्वरचन्द्र विद्यासागरमा पुग्यो । उसले विद्यासागरलाई आफ्नो पसलमा लिएर आयो र हात जोडेर भन्यो, ‘तपाईंले ममाथि जुन उपकार गर्नुभएको थियो, त्यो म कहिल्यै बिर्सन सक्दिनँ । यो लिनुस् तपाईंले दिएको एक रुपैयाँ ।’ ईश्वरचन्द्र विद्यासागरले मुस्कुराउँदै भने, ‘यसमा मेरो आभार मान्नुपर्ने आवश्यकता छैन । एक देशवासी हुनुको नाताले यो मेरो कर्तव्य थियो । तिमी आफ्नै मिहिनेतले मेरो त्यो एक रुपैयाँ फिर्ता गर्न समर्थ भयौ । अब यो रुपैयाँ तिमी अरू कुनै योग्य र आवश्यकता परेको मानिसलाई देऊ ।’

सुझावित समाचार