आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउँदै आइएमई लाइफले सोही प्रतिबद्धताको निरन्तरतास्वरूप आर्थिक सहयोग गरेको जनाएको छ।
उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा परिचालन गरिनेछ। समता एजुकेसन फाउन्डेसन आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सक्रिय छ।