नेप्से आठ अंकले घट्दा कारोबार रकम तीन अर्बभन्दा कम

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। नेप्से ८.५० अंकले घटेर दुई हजार ६५१.५२ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६४ अंकले घटेको छ।

आज कारोबार रकम तीन अर्बभन्दा कममा सीमित भएको छ। ६४ लाख ८० हजार कित्ता सेयर दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो। बुधबार चार अर्ब ४१ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

बिहीबार उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ वटा समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह १.९६ प्रतिशतले ओरालो लाग्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

नेप्से घटे पनि टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी कालिका लघुवित्त र सप्तकोशी विकास बैंक क्रमशः १२ र ५ प्रतिशतभन्दा धेरैले बढेका छन्।

सबैभन्दा धेरै गुमाउनेतर्फ भुजुङ हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त कम्पनी ११.०३ प्रतिशतले गिरावट हुँदा सिवाइसी नेपालको सेयर मूल्य करिब नौ प्रतिशतले घटेको छ।

कारोकार रकमका आधारमा आज सोपान फर्मास्युटिकल्स र कारोबार सेयर संख्याका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छन्। सोपान फर्माको १२ करोड ७७ लाख रुपैयाँभन्दा धेरैको कारोबार हुँदा आँखु खोलाको दुई लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ।
 

सुझावित समाचार