तिलोत्तमाको बजेट तीन अर्ब पाँच करोड

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि तीन अर्ब पाँच करोडबराबरको बजेट सार्वजनिक गरेको छ । 

नगरसभाको २१औँ अधिवेशनको बैठकमा आगामी वर्षको वर्ष ०८३/८४ का लागि तीन अर्ब पाँच करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सार्वजनिक गरेकी हुन् ।

बजेटमा कुल विनियोजनमध्ये आर्थिक विकासतर्फ ४५ करोड ७४ लाख २५ हजार, सामाजिक विकासतर्फ ६७ करोड ४८ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब सात करोड ८० लाख ७९ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ ४३ करोड ८४ लाख २९ हजार र सुशासन तथा संस्थागत विकासतर्फ ४० करोड ८० लाख छुट्याइएको छ ।

पुँजीगत खर्चका लागि एक अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.९१ प्रतिशत बजेट विनियोजन गरिएको छ । चालू खर्चतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ अर्थात ३०.२२ प्रतिशत, सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ अर्थात् १४.७२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

तिलोत्तमाले आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी दुई अर्ब ६९ करोड ६१ लाख ६३ हजार रुपैयाँ संघीय र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा चालू आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने उपप्रमुख चौधरीले जानकारी दिइन् ।

नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ ।
 

सुझावित समाचार