मकवानपुरका १० मध्ये नाै पालिकाले ल्याए बजेट, कुल बजेट १० अर्बनजिक

राक्सिराङले असार २२ मा सार्वजनिक गर्ने

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

मकवानपुरका १० मध्ये नाै पालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका नाै पालिकाले सार्वजनिक गरेको बजेटको कुल आकार झन्डै आठ अर्ब ९० करोड ९४ लाख ३५ हजार रुपैयाँभन्दा बढी छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार नै मकवानपुरका १० मध्ये नाै पालिकाले समयमै बजेट सार्वजनिक गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने आगामी असार २२ गते मात्रै बजेट ल्याउने तयारी गरेको छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बजेट तयारी पूरा हुन नसकेका कारण गाउँसभा पछि सार्नुपरेको बताए । जिल्लाका अन्य सबै पालिकाले भने आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

हेटौँडाको बजेट पाँच करोडले घट्यो
बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौँडाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ८५ करोड पाँच लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षको तुलनामा पाँच करोड रुपैयाँले बजेट घटाइएको हो । उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

उपमहानगरले आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।सडक, खानेपानी, बसपार्क, उज्यालो सहर कार्यक्रम, सिसिटिभी जडान तथा डिजिटल सेवा विस्तारलाई विशेष प्राथमिकता दिइएको छ। आगामी वर्षदेखि विद्युतीय भवन निर्माण अनुमति प्रणाली लागू गरिने, दुई सय बिघा क्षेत्रमा ड्रागन फ्रुट र मेवा खेती विस्तार गरिने तथा युवालक्षित कृषि कार्यक्रम सञ्चालन गरिने नीति पनि ल्याइएको छ ।

थाहाले कृषि, पर्यटन र पूर्वाधारलाई जोड दियो
थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा खानेपानीलाई प्राथमिकतामा राखिएको छ । संघीय सरकारबाट ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ ।

गाउँपालिकाहरूमा मनहरीको बजेट सबैभन्दा ठुलो
जिल्लाका गाउँपालिकामध्ये मनहरी गाउँपालिकाले सबैभन्दा ठुलो ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । चालू वर्षको तुलनामा बजेटको आकार झन्डै ११ करोड रुपैयाँले बढेको छ । उपाध्यक्ष सीता पुलामीमगरले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । कुल बजेटको ३५.४२ प्रतिशत अर्थात् ३४ करोड ९१ लाख रुपैयाँ पूर्वाधार क्षेत्रमा विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा २१ करोड १९ लाख रुपैयाँ बजेट छुट्याइएको छ भने स्वास्थ्य क्षेत्रमा चार करोड ८२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीबाट मात्रै २६ करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ ।

बकैयाको बजेट ८९ करोड ५० लाख
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी १० करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको पालिकाले शिक्षाका लागि चार करोड ३५ लाख रुपैयाँ, स्वास्थ्यका लागि दुई करोड ५६ लाख रुपैयाँ तथा कृषि क्षेत्रका लागि दुई करोड २८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । करार कर्मचारीको पारिश्रमिक १० प्रतिशतले वृद्धि गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने व्यवस्था पनि बजेटमार्फत गरिएको छ ।

भीमफेदीमा पर्यटन र कृषि प्राथमिकतामा
भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड एक लाख ६२ हजार रुपैयाँको बजेट ल्याएको छ । पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले पर्या–पर्यटन, कृषि पर्यटन तथा सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ । मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, मनकामना क्षेत्र र अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको छ ।

बागमती गाउँपालिकाको बजेट ७३ करोड २० लाख
बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । कुल बजेटमध्ये ४७ करोड २९ लाख रुपैयाँ चालू खर्च र २५ करोड २९ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ प्रस्ताव गरिएको छ ।

मकवानपुरगढीको बजेट ७२ करोड ७५ लाख
मकवानपुरगढी गाउँपालिकाले ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विकासका मुख्य आधारस्तम्भका रूपमा अघि बढाइने भएको छ । गाउँपालिकाले जैविक खेती, स्मार्ट कृषि, किसान परिचयपत्र कार्यक्रम, रैथाने बाली संरक्षण तथा पशुपालन आधुनिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

कैलाशको बजेट ५५ करोड ८४ लाख
जिल्लाकै दुर्गम कैलाश गाउँपालिकाले ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । स्वास्थ्य, शिक्षा, कृषि तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखिएको बजेटमा ‘चेली प्रोत्साहन कार्यक्रम’लाई निरन्तरता दिइएको छ । ‘एक घर एक धारा’, ‘जिरो होम डेलिभरी’, बिपी स्मृति कैलाश आधारभूत अस्पताल सुदृढीकरण तथा बाँझो जमिन उपयोग कार्यक्रमलाई प्राथमिकता दिइएको छ । 

गाउँसभाको अवसरमा कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गरेका १० जना चेलीलाई सम्मानसमेत गरिएको थियो । बालविवाह रोक्ने उद्देश्यले ल्याइएको चेलीलाई सम्मान कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

इन्द्रसरोवरको बजेट ४२ करोड
इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड दुई लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘सुखी र समृद्ध इन्द्रसरोवर’ निर्माणको लक्ष्यसहित पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिइएको छ । कुलेखानी जलाशयकेन्द्रित पर्यटन विकास, होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण तथा मत्स्यपालन र बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिएका छन् ।

सुझावित समाचार