सुदूरपश्चिमका डिआइजी भट्टराईको कञ्चनपुर प्रहरीलाई निर्देशन– नागरिकको सुरक्षामा तस्करविरुद्ध निर्मम बन्नू

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका छन् । हालै प्रदेश प्रमुखको जिम्मेवारीमा आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) भट्टराईले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका हुन् । 

कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले डिआइजी भट्टराईले आन्तरिक कार्यालयको स्थलगत अनुगमन गरेको बताए। साथै, कार्यालयका सबै शाखा, परिसरसहितका सेवा प्रवाहबारे अनुगमन गरेको पनि बताए। अनुमगनपश्चात् जिल्लाका प्रहरी प्रमुखदेखिका अधिकारी, कर्मचारीहरूलाई डिआइजी भट्टराईले अपराध अनुसन्धान नियन्त्रणदेखि शान्ति सुरक्षामा कामकाज प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका छन् ।

सबै सीमावर्ती चोरी तस्करी हुने जिल्ला भएकाले भन्सार राजस्व चोरीछलीविरुद्धमा निर्मम भएर कामकाज गर्न निर्देशन दिएका छन् । हरेक प्रहरीले संगठनले दिएको जिम्मेवारी आ–आफ्नो ठाउँबाट अपराधविरुद्ध शून्य सहनशीलता अपनाएर कार्य सम्पादन गर्नसमेत निर्देशन दिएका हुन् । नागरिकलाई अनुभूति हुने गरेर सेवा प्रवाह गर्न हरपल नागरिक सुरक्षामा खटिन कुनै कसरी बाँकी नराख्न निर्देशन दिएका छन् ।

अनुगमनपछि छेउमै रहेको नेपाल प्रहरीकै विपत् व्यवस्थापन कार्यालयको समेत अनुगमन गर्दै डिआइजी भट्टराईले विपतकाे आवश्यक तयारी गर्दै उद्धार, खोजदेखिका कामकाजमा प्रभावकारी रूपमा खटिएर नागरिकको जिउधन सुरक्षाका कार्यक्रम गर्न निर्देशन दिए । डिआइजी भट्टराईलाई कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी, डिएसपी टेकबहादुर रावत, इन्स्पेक्टर वीरेन्द्रसिंह थापा, डम्बर भट्टसहितका प्रहरी सिनियर तथा जुनियर अधिकृत, कर्मचारीहरूले स्वागत गरेका थिए ।

डिआइजी भट्टराईले सुदूरपश्चिम प्रदेशको सुरक्षा कमान्ड सम्हालेपछि यसअघिका डिआइजी ओमबहादुर रानाका कार्यकालमा भएका प्रहरीका ४४४ काज फिर्ता गर्दै आन्तरिक संगठन सुदृढीकरणदेखिका बाह्य रूपमा हुने गैरकानुनी गतिविधि ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिँदै आएका छन् । दशकअघि सीमावर्ती जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपीको जिम्मेवारी सम्हालिसकेका काबिल प्रहरी वरिष्ठ अधिकृत (डिआइजी) भट्टराईको सुदूरपश्चिम प्रदेशको प्रवेशले शान्ति सुरक्षादेखिका चोरीतस्करी नियन्त्रणको नागरिकले अपेक्षा राखेका छन् । 

सुझावित समाचार