पत्रकारलाई धम्कीकाे आरोपमा पक्राउ परेका कार्कीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

समाचार लेखेको भन्दै धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्कीलाई जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

असार ४ गते रेडियो धनकुटाको आधिकारिक अनलाइन पोर्टल धनकुटा एफएम डटकममा प्रकाशित समाचारको विषयलाई लिएर महालक्ष्मी नगरपालिका–७, आन्द्रुङका कार्कीले सामाजिक सञ्जालमार्फत पत्रकार एवं रेडियो धनकुटा एफएमका स्टेसन म्यानेजर गोपाल बराइलीलाई गालीगलौज गर्दै धम्की दिएका थिए। आरोपित कार्कीलाई पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले बुधबार बिहान ५ बजे घरबाटै पक्राउ गरेको थियो।

परिवारलाई समेत जोडेर धम्की आएपछि बराइलीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। कार्कीमाथि थप अनुसन्धान गर्न म्याद थप अनुमतिका लागि जिल्ला अदालत धनकुटामा लगेकोमा पाँच दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

सुझावित समाचार