अघोरी तान्त्रिक बन्न मध्यराति मसानघाटमा अर्धनग्न भएर धामी बस्ने चारजना पक्राउ

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

अघोरी तान्त्रिक बन्न मानिस दाहसंस्कार गर्ने  मसानघाटमा मध्यराति गएर  धामी बसेर होहल्ला गर्ने चारजनालाई मोरङ प्रहरीले पक्राउ परेको छ । विराटनगर महानगरपालिका– १ स्थित परोपकारघाटमा मध्यराति मादकपदार्थ सेवन गरेर अर्धनग्न भएर अघोरी तान्त्रिक बन्ने सिद्धप्राप्त गर्न भन्दै मापसे गरेर होहल्ला गर्दै धामी बस्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो । 

परोपकारघाटमा मध्यराति अश्लील हर्कतसहित अवान्छित कार्य हुँदै आएको सूचना पाएपछि प्रहरीले ९ असार  राति साढे १२ बजे परोपकारघाटमा धामी बस्दै गरेको अवस्थामा पुगेको  प्रहरीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका– ६ निवासी ४४ वर्षीय शरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका– ६ निवासी २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ निवासी २८ वर्षीय मानिस काफ्ले र विराटनगर महानगरपालिका– ४ निवासी ४४ वर्षीय छविलाल घिमिरे छन्। 

पवित्र सार्वजनिक स्थलमा दिनहुँ मध्यराति पुगेर अघाेरी बाबा बन्न सिद्धप्राप्त गर्न भन्दै मध्यराति पूजा लगाएर अर्धनग्न भई होहल्ला गर्दै धामी बसेर सार्वजनिक स्थलमा अश्लील हर्कत गरी शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीले आरोप लगाएको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले अभद्र व्यवहार कसुरमा कारबाही गर्ने जनाएको छ। 

अघोरी भनेका हिन्दु धर्मका एक विशिष्ट र रहस्यमय साधु हुन्, जसले संसारको डर, त्रास र लोभ र  भेदभावभन्दा माथि उठेर कठोर आध्यात्मिक साधना गर्छन्। यसरी साधना गर्नेहरू स्वछन्द रूपले प्रायः खरानी घसेर डरलाग्दो हुलिया बनाएर मानव चिहान वा मसानघाटमा बस्ने गर्छन् । तर, अन्धविश्वासअनुसार श्यामसान घाटमा मध्यराति तपस्या गरेर रहस्यम  तन्त्रविद्या जान्ने अघोरी तान्त्रिक बन्न शक्ति प्राप्त हुन्छ र  जसलाई पनि वशमा पार्न सकिन्छ भन्ने  अन्धविश्वास अझै छ ।  

See More On

सुझावित समाचार