लुम्बिनीमा सत्तापक्षकै सांसदहरूले बजेटको विरोधमा गरेका छन् । बजेट मुख्यमन्त्री र मन्त्रीमुखी भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक सुरु भएलगत्तै सभामुख तुलाराम घर्तीमगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए । तर, सत्तापक्ष र विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । दलहरूबिच सहमति जुट्न नसकेपछि बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
मंगलबार असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग छलफल गरे पनि निकास निस्किएन । छलफलमा सहभागी कांग्रेस सांसद भुवनेश्वर चौधरीले छलफलमा मुख्यमन्त्री तथा मन्त्रीहरूले कमजोरी स्वीकार गरे पनि बजेट सच्याउने ग्यारेन्टी नभएसम्म बैठक सञ्चालन हुन नसक्ने बताए । बुधबार मुख्यसचिव तथा सचिवहरूसमेत राखेर छलफल गर्ने कार्यक्रम तय भएको छ । उनले बुधबारको छलफलमा आफूहरूको माग सम्बोधन भएमा र ती माग सम्बन्धमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएमा मात्रै निकास निस्किन सक्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता जोखबहादुर महराले अहिलेको बजेट भद्रगोल रहेकाले यसलाई फेल गराएर नयाँ बनाउँदा राम्रो हुने आफूहरूको सुझाव रहेको बताए । कांग्रेस प्रमुख सचेतक जमुना ढकालले बुधबार बिहान हुने छलफलले निकास दिने बताइन् ।
मंगलबारको प्रदेश सभा बैठकमा कांग्रेस सांसद बसिउद्दिन खाँले जहाँ–जहाँ मन्त्री त्यहाँ–त्यहाँ बजेट भएपछि यसमा सत्तापक्ष–प्रतिपक्ष भन्ने नै रहेन, यो त जनताको विषय हो भन्दै असहमति राखे । उनले यसरी जनतालाई ठग्न नपाइने भन्दै माग सम्बोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । कांग्रेसकै भुवनेश्वर चौधरी, राजमो सांसद तारा थापा, नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्रकुमार पुन मगर, जनमत पार्टीका चन्द्रकेश गुप्तालगायतले बजेटको विरोध गर्दै बैठक अगाडि बढ्न नसक्ने बताएका थिए । बैठकको सुरुमा सभामुख घर्तीमगरले विषयगत समितिका सदस्य हेरफेर भएकोबारे जानाकारी गराएका थिए । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष ०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव पेस भएपछि बैठक अगाडि बढाउन सभामुखले प्रयास गर्दा सांसदहरूले विरोध जनाएका थिए ।