- सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि सन्न्यास घोषणा गरेका लियोनल मेसी राष्ट्रिपतिको विशेष आग्रहमा पुनः अर्जेन्टिनी टोलीमा आबद्ध भए । १० वर्षभित्र उनले दुई कोपा अमेरिका र एक विश्वकप ट्रफी राष्ट्रलाई दिलाए ।
सन् २०१६ मा चिलीमा भएको कोपा अमेरिकाको फाइनलमा लियोनल मेसीले असफल पेनाल्टी प्रहार गरेका थिए । मेसीको पेनाल्टी मिससँगै अर्जेन्टिनाले नौ वर्षमा चार ठुलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल गुमाउन पुग्यो । मेसीको कप्तानमा अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनल र लगातार कोपा अमेरिकाको उपविजेता बन्यो । लगातार अन्तर्राष्ट्रिय फुटबलमा टोलीलाई उपाधि दिलाउन नसक्दा मेसी स्तब्धझैँ भए । उनले एक्कासी फुटबलबाट सन्न्यास घोषणा गरे ।
‘मेरो नजरमा राष्ट्रिय टोली आजबाट समाप्त भयो,’ १० वर्षअघि उनले भावुक हुँदै भनेका थिए, ‘मैले आफ्नो करिअरमा अर्जेन्टिनालाई उपाधि दिलाउन सबै गरेँ, तर सकिनँ । यस्तो लागेको छ, अब अर्जेन्टिनालाई उपाधि दिलाउन सकिँदैन । त्यसकारण, मैले टोलीबाट सन्न्यास लिएको छु ।’ मेसीको त्यो १० वर्षअघि संसारलाई स्तब्ध बनाउने निर्णयले अच्चम्मित तुल्याएको थियो । तत्कालीन अर्जेन्टिनाका राष्ट्रपतिको विशेष आग्रहमा मेसीले सन्न्यास फिर्ता लिए ।
१० वर्षअघि र पछिको मेसीले आफूलाई विश्व फुटबलमा एक स्थानमा पुर्याइसकेका छन् । यो मेसीले कल्पना गरेको भन्दा बाहिर हो । उनी अहिले विश्वकप र कोपा अमेरिका च्याम्पियनका कप्तान हुन् । अस्ट्रियासँग प्रतिस्पर्धा गर्नुअघि मात्र उनले ४०औँ जन्मदिन मनाएका थिए । यो उमेरमा पनि उनी अर्जेन्टिनाका प्लेमेकर खेलाडी हुन् । अमेरिकामा मेसीले आफ्नो जादुमयी खेलबाट सबैलाई आकर्षित र मोहित बनाइरहेका छन् । यति मात्र नभएर अब उनी विश्वकप इतिहासमै सर्वाधिक गोलकर्ता बनेका छन् । अस्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेका उनै मेसीले दुई गोल गर्दै अर्जेन्टिनालाई २३औँ विश्वकपको नकआउट चरणनमा पुर्याएका छन् ।
मेसीको नाममा अहिले १८ गोल छ । यद्यपि, उनलाई फ्रान्सका युवा कप्तान केलियन एम्बाप्पेले पछ्याइरहेका छन् । एम्बाप्पेले पनि विश्वकपमा १६ गोल गरिसकेका छन् । मेसीले जर्मनी खेलाडी मिरोस्लाभ क्लोजको रेकर्ड तोड्दा केलियनले बराबरी गरेका छन् । मेसी सधैँ फर्ममा हुन्छन् । चोटबाहेक अन्य कुनै पनि कारणले उनी अनफिट भएको सुन्नुपरेको छैन । अझ यो ६ वर्ष उनको करिअरमा धेरै सफलता निस्कियो ।
दुई कोपा अमेरिका र एउटा विश्वकप उपाधि उनले अर्जेन्टिनालाई दिलाए । यो सबै सन्न्यास फिर्तापछिको कथा हो । एक किसिमले सन्न्यास लिनु र फिर्ता लिनु पक्ष मेसीको जीवनमा वरदान साबित भयो । सन् १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई अन्तिमपटक विश्व च्याम्पियन बनाएका थिए । म्याराडोनाकै उत्तराधिकारी भनेका मेसीले सन् २०२२ को कतार विश्वकपमा सात गोल गरे । यसमा पनि उनले फाइनलमा फ्रान्सविरुद्ध महŒवपूर्ण दुई गोल गरेका थिए ।
मेसीले सोमबार ४० वर्षको जन्मोत्सव मनाइरहँदा यसै दिन म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । म्याराडोनाले कीर्तिमान राखेको दिनमै मेसीले पनि फुटबल इतिहासमा नाम लेखाउँदै अस्ट्रियाविरुद्ध दुई गोल गर्न सफल भए । उनको पहिलो गोल क्लोजको रेकर्ड भंग भयो । दोस्रो गोलपछि उनले आफ्नो विश्ककप यात्रामा १८ गोल संख्या पुर्याए । ‘फुटबल इतिहासमा मेसीको यो अर्को सफलताको कथा हो,’ बिबिसीका कमेन्टेटर स्टिभ ब्राउनले भने ।
२८ खेलमा १८ गोल
अमेरिकामा चलिरहेको विश्वकप मेसीको ६ सहभागिता हो । सन् २००६ देखि विश्वकप खेल्दै आएका मेसीले अहिलेसम्म २८ खेल खेलेका छन् । विश्वकपमा धेरै गोल गर्ने र खेल्ने रेकर्ड पनि उनकै नाममा आएको छ । रमाइलो पक्ष के छ भने सन्न्यास फिर्ता लिएपछि उनले विश्वकपमा १३ गोल गरेका छन् । अझ यसमा उनले १३ मध्ये १२ गोल ३५ वर्षपछि गरेका हुन् । उनले १८ मध्ये १४ गोल डिबक्सभित्र र चार गोल डिबक्सबाहिरबाट गरे । ‘यो मैदानमा खेल्न मलाई मन पर्छ । मैदानमा अहिले राम्रो समय बितिरहेको छ,’ खेलपछि मेसीले भनेका छन्, ‘हामी मात्र नभएर अर्जेन्टिनी समर्थक खुसी छन् । हाम्रो यात्रा योभन्दा अगाडि हो ।’
खेलको आठौँ मिनेटमा मेसीले पेनाल्टी मिस गरेका थिए । पेनाल्टी गोल हुँदा विश्वकपमा लगातार दुई खेलमा ह्याट्रिक गर्ने रेकर्ड पनि उनकै नाममा हुने थियो । तर, पेनाल्टी गुमाएको क्षणलाई बिर्सिने हो भने मेसी खेलमा पूरै छाएका थिए । मेसीले अस्ट्रियाविरुद्ध गरेको दोस्रो गोल मास्टर क्लास थियो । निकै कठिन कोणबाट उनले सम्भव पारेका थिए । सामान्य खेलाडीले यस्तो किसिमको गोल गर्न नसक्ने बिबिसीका खेल पत्रकार विलियम्सको भनाइ छ ।
यसैगरी, बिबिसीका लागि स्पेनिस खेल पत्रकार गुलेन बालागुयीले मेसीलाई विश्वकपमा रोक्नु असम्भव भएको बताए । ‘१८ संख्या अहिले कम देखिएको छ । अर्जेन्टिना जति अगाडि बढ्दै जान्छ । मेसीले पनि आफ्नो गोल संख्या थप्दै जानेछन्,’ उनले भने, ‘मेसीको बारेमा हामीले हेडलाइन भेट्टाउन सकेनौँ ।’ करिअरको अन्तिम समयमा पनि मेसी युवा अवस्थामै रहेको उनको भनाइ छ । ‘यस्तो किसिमको फिटनेस र प्लेमेकिङ शैली अहिलेका युवा खेलाडीसँग छैन, तर मेसीले मैदानमा सहज रूपमा यसलाई उदाहरणका रूपमा प्रस्तुत गरिरहेका छन्,’ बालागुयीले भने, ‘एकै किसिमले ९० मिनेट प्रतिस्पर्धा गर्नु एक महान् खेलाडीबाहेक अरूले गर्न सक्दैनन् ।’
अच्चम्मको फुटबल शैलीका कारण उनी महान् खेलाडीको पंक्तिमा रहेको उनको भनाइ छ । बालागुयी भन्छन्, ‘मैदानमा मेसीलाई धेरै दौडनुपर्दैन । विपक्षी डिफेन्स कसरी तोड्ने भनी योजना पनि बनाउनुपर्दैन । मेसी केवल आरामदायी रूपमा स्पेस बनाउँछन् र आकर्षक गोल गर्छन् । यस्तो शैलीले उनले पछिल्लो चार वर्षमा विकास गरेका हुन् ।’
६ खेलमा गोल गर्ने तेस्रो खेलाडी
मेसी विश्वकपको लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि सन् १९५८ मा फ्रान्सका जस्टिन फन्टाइन तथा सन् १९७० मा ब्राजिलका जैजिनहोले लगातार ६ खेलमा गोल गरेका थिए । मेसीले पछिल्लो ६ खेलमा १२ गोल गरेका छन् । यसका साथै उनले १० असिस्ट पनि गरे । इंग्ल्यान्डका पूर्वडिफेन्डर एस्ली विलियम्सले मेसीको फरक शैलीका कारण उत्कृष्ट भएको बताए । ‘मेसीले खेल्ने र अरू खेलाडीले प्रतिस्पर्धा गर्ने शैली नै फरक छ । मेसी सामान्य मुभका साथ अगाडि बढ्छन् । जुन निकै लोभलाग्दो हुन्छ । हेर्दा सामान्य लाग्छ, तर उनको मुभ अच्चम्मको हुन्छ,’ विलियम्सले भने, ‘आफू मात्र नभएर मेसी साथीहरूलाई गोलका लागि उत्तिकै मौका दिन्छन् ।’
पेनाल्टीमा खराब रेकर्ड
विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका मेसीले आफ्नो नाममा केही नराम्रा तथ्यांक समावेश गरेका छन् । विश्वकपमा उनी धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन् । मेसीले अहिलेसम्म विश्वकपमा सात पेनाल्टीमा तीनपटक असफल प्रहार गरे । अस्ट्रियाविरुद्धको उनको तेस्रो मिस पेनाल्टी थियो । राष्ट्रिय टोलीबाट उनले अहिलेसम्म ३१ पेनाल्टीमा ६ पटक मिस गरेका छन् ।