रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन्। चितवनमा जारी पहिलो महाधिवेनमा सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पहिलोपटकका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
गृहमन्त्री गुरुङलाई माछाको काँडा भएको अम्लेट खुवाउने भरतपुरको होटेललाई तीन लाख जरिवाना
चितवनको लर्डस् बिजनेस कम्प्लेक्स होटेललाई प्रशासनले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। सो होटेलले गृहमन्त्री सुधन गुरुङलाई मंगलबार बिहान माछाको काँडा भएको अम्लेट खुवाएको थियो।
अनुगमनको क्रममा गम्भीर लापरबाही गरेको खुलेपछि जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय, चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ रास्वपाको राजनीतिक प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस भएको छ। सभापति रवि लामिछानेले बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा २००७, २०४६ र २०६२र०६३ सालको आन्दोलनसहित इतिहासका सबै बलिदानहरूको सम्मान गर्दै जेन–जी विद्रोहको चेतना र ऊर्जा रास्वपाको आगामी यात्राको मार्गदर्शक बन्ने उल्लेख छ।
सरकारविरुद्ध सदनमा संघर्ष गर्ने एमाले संसदीय दलको निर्णय
नेकपा एमाले संसदीय दलको बैठकले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ कानुनी राज्यको खिलाफमा भएको निष्कर्ष निकाल्दै संसदमा संघर्ष गर्ने निर्णय गरेको छ। संसदीय दलको मंगलबारको बैठकले सरकारको तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
लुम्बिनीमा सत्तापक्षकै सांसद बजेटको विरोधमा
लुम्बिनी प्रदेशमा सत्ता पक्षकै सांसदहरूले बजेटको विरोध गरेका छन्। बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि प्रदेश सभा बैठक स्थगित भएको छ।
बैठक सुरु भएलगत्तै सभामुख तुलाराम घर्तीमगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए। तर, प्रदेश सभाका केही सदस्यहरूले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।
नेप्सेमा दोहोरो अंकको गिरावट
मंगलबार नेप्से परिसूचक २६।१६ अंकले घटेर दुई हजार ६७४।४८ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा ०।५० प्रतिशतको गिरावट भएको छ।
भक्तपुरमा ट्याटु आर्टिस्टको चक्कु प्रहार गरेर हत्या
ट्याटु खोपाउने विषयमा विवाद हुँदा भक्तपुरको नगरकोटमोडमा महोत्तरी मिथिला नगरपालिका ९ का २८ वर्षीय आकाश रसाइलीले ज्यान गुमाएका छन्। उनीमाथि सोमबार साँझ चक्कु प्रहार भएको थियो।
घटनामा संलग्न उदयपुर गाईघाट त्रियुगा–१३ का ३१ वर्षीय आयुश कार्की, झापा दमक –३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी रुरु क्षेत्रका ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले रसाइलीलाई चक्कु प्रहार गरेका थिए। चोटले ढलेका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
भेरी नगरपालिका कार्यपालिका बैठकको निर्णय पुस्तिका गायब
जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका गायब भएपछि नगरपालिकाले खोजी तथा आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग अनुरोध गरेको छ।
भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार ९ गते बसेको कार्यपालिका बैठकका क्रममा उपस्थिति दर्ता गरिसकेपछि निर्णय पुस्तिका हराएको हो।
गाउँसभाकै दिन गुठीचौरका अध्यक्ष पदमुक्त
गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा गाउँसभाकै दिन पदमुक्त भएका छन् । दोस्रो स्थानीय तहको निर्वाचन ०७९ मा नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बुढा पदमुक्त भएका हुन् ।