भक्तपुरमा ट्याटु आर्टिस्टको चक्कु प्रहार गरेर हत्या

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

ट्याटु खोपाउने विषयमा विवाद हुँदा भक्तपुरको नगरकोटमोडमा महोत्तरी मिथिला नगरपालिका ९ का २८ वर्षीय आकाश रसाइलीले ज्यान गुमाएका छन्। उनीमाथि सोमबार साँझ चक्कु प्रहार भएको थियो।

घटनामा संलग्न उदयपुर गाईघाट त्रियुगा–१३ का ३१ वर्षीय आयुश कार्की, झापा दमक –३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी रुरु क्षेत्रका ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले रसाइलीलाई चक्कु प्रहार गरेका थिए। चोटले ढलेका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार रसाइली ट्याटु आर्टिस्ट हुन्। उनीसँग झापा दमकका २७ वर्षीय शेर्पा ट्याटु खोपाउन चाहन्थे। यही क्रममा उनीहरू भक्तपुर नपा–१, नगरकोटमोडस्थित होटेलमा भेट भएका थिए। ट्याटुको विषयलाई लिएर दुई पक्षबिच विवाद भयो। हात हालाहालपछि रसाइलीले घटनास्थलमा अन्य साथी बोलाएर ल्याए। शेर्पासँग रहेका कार्की र कुँवरले पनि रसाइली पक्षबाट युवालाई प्रहार गरे। यही क्रममा शेर्पा पक्षका युवाले चक्कु झिकेर रसाइलीलाई प्रहार गरे। सोही चोटका कारण उनको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी प्रकाश जगेबुले बताए।  

उनले  भने, ‘मृतक रसाइली ट्याटु आर्टिस्ट हुन्। शेर्पा भने ट्याटु खोपाउन गएका रहेछन्। यही क्रममा उनीहरूबिच विवाद भयो। रसाइलीलाई चक्क प्रहार गरे। चोटका कारण उनको मृत्यु भएकोजस्तो देखिन्छ।’
 

See More On

सुझावित समाचार