उदयपुरकाे चौदण्डीगढीको बजेट एक अर्ब ३७ करोड

सडक कालोपत्रे, अस्पताल सम्पन्नदेखि मुसहर परिवारलाई चाडपर्व खर्चसम्म

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब ३७ करोड नाै लाख पाँच हजार २१२ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको २०औँ नगरसभा बैठकमा उपप्रमुख मणिकादेवी दुलालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिका प्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सामाजिक सुरक्षा तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । 

प्रस्तुत बजेटअनुसार कुल आय र व्यय दुवै एक अर्ब ३७ करोड नाै लाख पाँच हजार २१२ रुपैयाँ बराबर रहेको छ । कुल बजेटमध्ये चालू तथा प्रशासनिक खर्च तथा ससर्त अनुदानतर्फ ९१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कार्यक्रम तथा पुँजीगत खर्चतर्फ ४५ करोड २४ लाख पाँच हजार दुई सय १२ रुपैयाँ छुट्याइएको छ ।

नगरपालिकाले आगामी वर्षलाई पूर्वाधार निर्माणको वर्षका रूपमा अघि बढाउने योजना अघि सारेको नगरप्रमुख लामाले जानकारी दिए । संघीय तथा प्रदेश सरकारले लगानी नगरेका नगरभित्रका सडकहरू बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे गरिने भएको छ । यस्तै, गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको सडक ग्राभेल तथा स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वडामा १५ किलोमिटरका दरले कुल १५० किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिने घोषणा गरिएको छ ।

खानेपानी क्षेत्रमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ भने चौदण्डीगढी आधारभूत नगर अस्पतालको १५ शय्याको भवन निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडा नम्बर ५ स्थित सुन्दरपुर स्वास्थ्यचौकीका लागि एम्बुलेन्स खरिद गरिने बजेटमा उल्लेख छ ।

मुसहरलाई चाडपर्व खर्च

सामाजिक सुरक्षालाई समेत प्राथमिकता दिँदै नगरपालिकाले विपन्न मुसहर परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच हजार रुपैयाँका दरले चाडपर्व खर्च उपलब्ध गराइनेछ । विपन्न नागरिकको सदगत तथा काजकिरिया खर्च व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम घोषणा गरिएको छ । कृषकहरूले प्रयोग गर्ने कृषि विद्युत् मिटरमा नेपाल विद्युत् प्राधिकरणले लिने पाँच प्रतिशत अतिरिक्त भ्याट नगरपालिकाले व्यहोर्ने भएको छ । कृषि हाटबजार पूर्वाधार निर्माण, खरबुजा खेती प्रवर्द्धन, धान तथा गहुँको बिउमा अनुदान, प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रम तथा कृषि मोटर, टनेल र च्यापकटर अनुदानमा वितरण गर्ने योजना छ ।

पशुपालन क्षेत्रको विकासका लागि पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिने भएको छ भने नदीजन्य पदार्थ उत्खननबाट प्रभावित क्षेत्रको संरक्षणका कार्यक्रमसमेत सञ्चालन गरिनेछ । शिक्षा क्षेत्रतर्फ नगर बाल शिक्षक, संघीय बाल शिक्षक, लेखा कर्मचारी, विद्यालय सहयोगी तथा सामुदायिक कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ । शिक्षा सुधारका लागि नगर शिक्षक नियुक्त गरिने, विद्यालय तथा क्याम्पसका विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र विद्यालय भौतिक सुधार कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । वडा नम्बर ५ र ९ का मदरसालाई अनुदान प्रदान गरिने व्यवस्था छ ।

पर्यटन तथा सांस्कृतिक क्षेत्रका कार्यक्रम, उज्यालो नगर अभियानसँगै बजेटले पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन तथा सामाजिक सुरक्षालाई समानान्तर रूपमा अघि बढाउने प्रयास गरेको लामाको भनाइ छ ।
 

सुझावित समाचार