अंग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन्। विधानले आजभन्दा नाै वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने पलेँटी कार्यक्रमका निम्ति विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन्। विधान श्रेष्ठ लोक तथा देशभक्तिपूर्ण गीतहरूका लागि परिचित गायक हुन्। श्रेष्ठ सांगीतिक परिवारमा हुर्किएका गायक हुन्। उनले सुनसरीका चर्चित संगीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो सांगीतिक व्यक्तित्व विकास गरे। विजय श्रेष्ठ जसले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सिर्जना गरेका छन्।
विधानको स्वरमा गुञ्जेका ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु’, ‘आज नाच्छे मेरी गौरी’, ‘कान्छीको अल्लारे जोवन’जस्ता थुप्रै लोकप्रिय गीत छन्।
यसपालिको पलेँटी यही जुन महिनाको सप्ताहान्त अर्थात् २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा सम्पन्न हुनेछ।