विनोद शाही हत्या प्रकरण : कांग्रेस नेतासहित ६ जनालाई जन्मकैद

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

अछामका विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाहीसहित ६ जनालाई जन्म कैदको फैसला भएको हो ।

चार वर्षअघि ३० वैशाख ०७९ मा स्थानीय तहको निर्वाचनको विषयलाई लिएर उनीहरूले विनोदको हत्या गरेको उच्च अदालत दिपायलले ठहर गरेको छ । यसअघि जिल्ला अदालत अछामबाट सफाइ पाएका उनीहरूको फैसला उच्चले उल्ट्याइदिएपछि नगरसभापति शाहीसहित महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय भएको हो ।

अदालतका प्रवक्ता नरबहादुर नेगीका अनुसार उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनमसिंह चन्दको संयुक्त इजलासले उनीहरूबाट जनही एक–एक लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ। घटनामा संलग्न भनी पीडित पक्षले किटान गरेका अन्य चारजना प्रतिवादी दानमती बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्तिकुमारी शाहीको हकमा भने जिल्लाकै निर्णय सदर हुने भनिएको छ ।

यसअघि ४ मंसिर ०८२ मा जिल्ला अदालत अछामले यो मुद्दाको सुनवाइमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यो वेला राजनीतिक पहुँचका भरमा सफाइ दिएको भन्दै पीडित पक्षले आरोप लगाएका थिए । त्यसपछि उनीहरूले यो मुद्दा उच्च अदालतमा दायर गरेको पीडित पक्षका बखतबहादुर शाहीले बताए ।

त्यो वेला उनीहरूले पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेसहित १३ जनाका नाममा किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरू सबै लामो समय जिल्लाबाहिरै लुकेर बसेका थिए। त्यसबिचमा नगरप्रमुख चलाउनेबाहेक अन्यलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरी मुद्दा चलाएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीनजना आरोपितविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरू भने पक्राउ परेनन् । मुद्दा चलाइएकाहरूलाई ०८२ को मंसिरमा जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसपछि यो मुद्दा उच्च अदालत गएको हो । 

के थियो विनोद शाही हत्या प्रकरण ?
०७९ को स्थानीय तह चुनावको विषयलाई लिएर जेठ १६ गते विनायकको कुच्चीमा महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबिच गाउँमा झडप भयो । त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवाहरू घाइते भए । झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते गाउँमा प्रहरी पुग्दा अधिकांश युवाहरू भागे ।

केहीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग पनि स्थानीयको हात हालाहाल भयो । सो क्रममा प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवालाई नियन्त्रणमा लियो । १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवाहरू १९ गते सम्पर्कमा आए, तर कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १६ वर्षीय छोरा विनोद भने सम्पर्कमा नआएपछि त्यही दिनदेखि उनको व्यापक खोजी थालियो ।

०७९ कै वैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्यचौकी मतदान केन्द्रमा एमाले, तत्कालीन एकीकृत समाजवादी र कांग्रेसबिच ‘फेकभोट’का विषयमा झडप भएको थियो । त्यो दिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले र समाजवादीको आरोप थियो भने एमाले, समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप थियो । त्यही विषयलाई लिएर १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबिच विवाद भएको हो ।

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँनजिकैको भिरमा मृत भेटिए । टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टा भाँचेर भिरमा फेलाको अवस्थामा बिहान १० बजेतिर शव भेटिएको पीडित पक्षका बखतबहादुर शाहीले बताए । जेठ १६ र १७ गतेको दोहोरो झडपलाई लिएर मृतक विनोदसहितका एमाले र समाजवादीनिकट युवाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन स्थानीय कांग्रेसनिकट केही नेताहरू जेठ १८ गतेदेखि नै पटकपटक जिल्ला प्रशासन कार्यालय अछाम पुगेको पीडित पक्षको दाबी छ । तर, २१ गते विनोदको शव भेटिएपछि भने उनीहरू प्रशासन धाउन छाडे ।

घटनापछि पीडित पक्षले त्यतिवेला नगरप्रमुख चलाउने र जिल्ला समन्वय समिति उपप्रमुख दानमती बम शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरे । त्यसपछि मुद्दा प्रक्रिया अघि बढेर अनुसन्धान थालियो । पीडित पक्षका बखतबहादुर शाहीका अनुसार जेठ १७ गते राति स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो । घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खुलेको मृतकका बुबा बलबहादुर शाहीले बताए । 

*भुलबस् यसअघि प्रकाशित फोटो सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रकाशकीय अधिकृतका परेकाले माफिसहित सच्याइएको छ*। सम्पादक

सुझावित समाचार