निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ग्लोबल आइएमई बैंक र एमएडब्लू अर्थमुभर्स प्रालिबिच समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट आइएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल र एमएडब्लूका एफ एन्ड आर प्रमुख सञ्जयदेव यादवले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअन्तर्गत जेसिबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले ग्लोबल आइएमईका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागू हुने लोन टु भ्यालु अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ ।
ग्राहकलाई छिटो सेवा प्रदान गर्न आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर जारी गरिने बताइएको छ । यसअन्तर्गत जेसिबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्रदान गर्दै प्रक्रिया छरितो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थाले साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक जेसिबी उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।