कोटेश्वरमा सोमबार साँझ एक कारले चारवटा मोटरसाइकललाई ठक्कर दिएको छ। दुर्घटनामा पाँचजना घाइते भएकोमा एकजना गम्भीर छन्।
बा.१४च ४८२० नम्बरको कार अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा बा.प्र.०२–०७९ प ६४८६ नम्बरको मोटरसाइकलचालक मकवानपुरकाे हेटौँडा स्थायी घर भई हाल ललितपुरको ग्वार्काे बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन र पछाडि सवार भोजपुर स्थायी घर भई हाल ग्वार्काे बस्ने १९ वर्षीय विपन राई घाइते भएका हुन्। उनीहरूमध्ये राईको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिकका एसपी नरेशराज सुवेदीले बताए।
त्यस्तै, बा.प्र.०२–०६१ प ६१०७ नम्बरको मोटरसाइकलचालक काठमाडौं स्वयम्भू– १५ बस्ने १८ वर्षीय सुशील श्रेष्ठ, बा.९६प ३३२५ नम्बरको मोटरसाइकलचालक ललितपुर धापाखेल बस्ने १९ वर्षीय एलिश बनियाँ, बा.प्र.०२–०४१ प ८२८२ नम्बरको मोटरसाइकलचालक रामेछाप स्थायी घर भई हाल ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीय सुदीप थापा मध्यम घाइते भएका छन्। । कारचालक मोरङको विराटनगर– ४ स्थायी घर भई हाल काठमाडौं सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।