नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबिच समझदारी

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले द्विपक्षीय व्यापार तथा लगानीमा सहकार्य गर्न भारतको ग्लोबल इन्भेस्टमेन्ट एन्ड ट्रेड एडभाइजर्स (गीता)सँग समझदारी गरेको छ । उनीहरूबिच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । 

यस समझदारीले नेपाल र भारतबिच व्यापार, लगानी, संस्थागत साझेदारी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्न रणनीतिक सहकार्यको स्वरूप निर्माण गर्ने निक्कीको भनाइ छ । 

यस्तै, साझेदारीले सीमापार व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको  आदान–प्रदानलाई सहज बनाउने, तथा दुवै देशका लगानीकर्ता र उद्यमीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्झौताअनुसार निक्की र गीताले व्यापारिक प्रतिनिधिमण्डलहरूको आदान–प्रदान, लगानी प्रवर्द्धन कार्यक्रम, क्षेत्रगत अन्तरक्रिया, नीतिगत संवाद, रोडसाे तथा सरोकारवालाहरूसँग परामर्शलगायतका विभिन्न पहलहरूमा संयुक्त रूपमा कार्य गर्नेछन् ।

यस सहकार्यको उद्देश्य व्यवसायी, लगानीकर्ता, उद्योग वाणिज्य संघहरू, औद्योगिक निकायहरू, सरकारी निकायहरू तथा विकास साझेदार संस्थाहरूबिच संरचित सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको निक्कीको भनाइ छ । साथै,  प्रमुख क्षेत्रहरूमा उदाउँदै गरेका आर्थिक अवसरहरूमा थप सहभागिता सुनिश्चित गर्नु रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

समझदारीपत्रमा निक्कीका निर्देशक मार्शल राठौर तथा गीताका प्रबन्ध साझेदार प्रिया रावतले हस्ताक्षर गरे । उक्त अवसरमा दुवै संस्थाका प्रतिनिधिहरूले भारत–नेपाल आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन संस्थागत सहकार्यकोे महत्त्वपूर्ण भूमिका रहनेबारे जोड दिए । 

दुई संस्थाहरूबिचको यो समझदारीले आगामी दिनहरूमा द्विपक्षीय व्यापार तथा लगानी प्रवाह अभिवृद्धि गर्न, व्यापारिक साझेदारीलाई प्रवर्द्धन गर्न तथा दुई छिमेकी राष्ट्रबिच आर्थिक सहकार्यका लागि अझ गतिशील र प्रभावकारी वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

सुझावित समाचार