भरतपुरको बजेट ५ अर्ब ५१ करोडः चालू वर्षको तुलनामा २९ करोडले बढ्यो बजेट

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३ /८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको तुलनामा करिब २९ करोड रुपैयाँले बढाइएको बजेटमा पूर्वाधार विकास, फोहोर व्यवस्थापन, स्वास्थ्य, सूचना प्रविधि तथा पर्यावरण संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

सोमबार सम्पन्न महानगरपालिकाको १९औँ नगरसभामा कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष ०८२/८३ मा ५ अर्ब २२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। आगामी वर्षका लागि बजेटको आकार बढाउँदै महानगरले विकास निर्माणसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ।
बजेट प्रस्तुत गर्दै कार्यवाहक प्रमुख अधिकारीले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए । यद्यपि, चालू आर्थिक वर्षमा अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको उनले स्वीकार गरे। 

महानगरले चालू वर्षमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि जेठ मसान्तसम्म १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको जानकारी दिए। राजस्व संकलनमा लक्ष्यअनुसार प्रगति हुन नसक्नुका साथै पुँजीगत खर्च पनि अपेक्षाभन्दा कम भएको उनको भनाइ थियो।

कार्यवाहक प्रमुख अधिकारीले चालू आर्थिक वर्षमा विकास निर्माणको गति प्रभावित हुनुका विभिन्न कारण औँल्याए। उनका अनुसार जनजीवन प्रभावित पार्ने आन्दोलन, प्रतिनिधिसभा निर्वाचन, अन्तर्राष्ट्रिय राजनीतिक तनाव तथा इन्धन मूल्यवृद्धिले विकास आयोजनाहरूको कार्यान्वयनमा असर पारेको छ।

‘आन्दोलनका कारण भएको क्षति, निर्वाचनको प्रभाव तथा इरान–अमेरिका तनावका कारण इन्धनको मूल्य बढ्दा विकास निर्माणका गतिविधिमा सुस्तता देखियो,’ उनले नगरसभामा भने।

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। भरतपुर–१५, रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यलाई गति दिन महानगरले १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। लामो समयदेखि निर्माण प्रक्रियामा रहेको रंगशालालाई सम्पन्न गर्ने उद्देश्यले महानगरले बजेटमार्फत थप लगानी गर्ने योजना बनाएको हो।

भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।

महानगरले आधुनिक प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउने लक्ष्य लिएको जनाएको छ।
बजेटमा सूचना प्रविधिको प्रयोग विस्तार गर्दै जिआइएस (भौगोलिक सूचना प्रणाली) मा आधारित सेवा प्रणाली विकास गर्ने कार्यक्रम समेटिएको छ। यसले महानगरभित्रका भौतिक संरचना, सडक, नक्सांकन तथा विकास योजनाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्तीहरूमा जंगली जनावरको आक्रमणबाट नागरिकलाई जोगाउन महानगरले चालू वर्षदेखि सञ्चालन गर्दै आएको छेकबार निर्माण कार्यक्रमलाई निरन्तरता दिएको छ। निकुञ्जआसपासका क्षेत्रमा फाउन्डेसनसहितको मेसजाली निर्माण गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने लक्ष्य बजेटमा समेटिएको छ।

महानगरपालिकाले स्वास्थ्य क्षेत्रतर्फ भरतपुर–१५ मा एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। महानगरले आधुनिक स्वास्थ्य सेवासँगै वैकल्पिक चिकित्सा प्रणालीको विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

पर्यावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। महानगरले साइकल लेन निर्माणलाई आगामी वर्षको प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा विस्तार गर्ने योजना बनाएको छ।

यसैगरी, महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई पूर्वाधार विकास, सूचना प्रविधिको प्रयोग, वातावरण संरक्षण, स्वास्थ्य सेवा विस्तार तथा खेलकुद पूर्वाधार निर्माणसँग जोडेर अघि बढाएको छ। नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि पारित गरिनेछ।

महानगरले आगामी वर्ष विकास निर्माणको गति बढाउने, राजस्व संकलन सुधार गर्ने र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

सुझावित समाचार