कोशी प्रदेश सरकारले अति जोखिममा पर्ने हेमोफिलिया अपांगता भएकाहरूको उपचारका लागि जीवनरक्षक औषधिको बजेट कटौती गरेको विरोधमा पीडितहरूले मन्त्रालयमा धर्ना दिएका छन्।
अति जोखिममा रहेका हेमोफिलिया (रगत बगिरहने) अपांगता भएका बिरामीहरूको अत्यावश्यक उपचारका लागि कोशी सरकारले २०७६–७७ देखि वार्षिक एक करोड बजेट विनियोजन गर्दै आइरहेको भए पनि आगामी आव २०८३–८४ का लागि ३० लाख मात्र विनियोजन गरेपछि पीडितहरूले सोमबार विराटगरस्थित स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका हुन्।
पीडितहरूका अनुसार कोशी सरकारले जीवन रक्षाका लागि प्रदान गर्दै आएको बजेटमा भारी कटौती गरेकाले आगामी दिनमा कोशी प्रदेशमा जीवनरक्षक ‘एन्टिहेमोफिलिक फ्याक्टर’को चरम अभाव हुनेछ। जसले गर्दा प्रदेशको दुर्गम जिल्लामा रहेका र गरिब बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्नेछ।
प्रतिभायल ८० हजार रुपैयाँसम्म पर्ने अति महँगो इन्जेक्सन लगाएपछि मात्र तत्कालका लागि जीवन सुरक्षित गराउन सक्ने जोखिममा रहेका हेमोफिलिया अपांगता भएका बिरामीहरूका लागि पहिले नै बजेट अपुग थियो। जीवनरक्षक औषधि प्रदेश सरकारले कटौती गरेपछि झन् जोखिममा परेकाले बजेट बढाउन माग गर्दै मन्त्रालयमा धर्ना दिन बाध्य भएको हेमोफिलिया सोसाइटी अध्यक्ष नवीन ढुंगेलले बताए। धर्नामा हेमोफिलिया पीडित र उनीहरूका परिवारहरू पनि सहभागी थिए।
हेमोफिलिया सोसाइटीका अनुसार अति जोखिममा रहेका हेमोफिलिया भएका बिरामीहरूको संख्या कोशी प्रदेशमा १५५ पुगेको छ। पहिले ९० जना मात्र बिरामी हुँदा कोशी सरकारले ६ वर्षदेखि निरन्तर १ करोड बजेट विनियोजन गर्दै आइरहेको थियो। जसले गर्दा दुर्गममा रहेका बिरामीहरूले जेनतेन औषधि प्राप्त गर्दै आइरहेका थिए। तर, बिरामीको संख्या बढ्दै गएको जानकारी भएर पनि कोशी सरकारले भारी बजेट कटौती गरेकाले आफूहरूको जीवन झन् संकटमा परेको हेमोफिलिया सोसाइटीका अध्यक्ष नवीन ढुंगेलले बताए।