नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहा नगरपालिका– २१ स्थित लगडीगोठबाट प्रहरीले गोली प्रहार गरी कुख्यात भारतीय लागुऔषध कारोबारी र एक नाबालकसहित दुईजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले आइतबार साँझ करिब साढे ५ बजेतिर नाै एमएमको पेस्तोलबाट एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरी दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जिल्ला पौदमाहा ग्राम पञ्चायत वडा नं. २ जोगिया टोल बस्ने करिब २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान र सोही ठाउँका एक नाबालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बूका अनुसार प्रहरीले प्रहार गरेको गोली छोटुको दाहिने पिँडुलामा लागेर घाइते भएको र पक्राउ गरिएलगत्तै सिराहा प्रादेशिक अस्पताल पुर्याएर उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय, महेशपुरपतार तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले लागुऔषध कारोबारीहरूलाई पक्राउ गरेको उनले बताए ।
महेशपुरपतार प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुढा गरी भारततर्फ भाग्न खोजेपछि एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषध कारोबारीहरूको ढुंगामुढाबाट महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुरसमेत खुट्टामा सामान्य चोट लागेर घाइते भए पनि उपचारपछि राति नै डिस्चार्ज भइसकेका छन् ।
छोटु लागुऔषध कारोबारी गिरोहका नाइके
सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ९२ ग्राम ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसमेत बरामद भएको छ । गोली प्रहार गरी पक्राउ गरिएका छोटु सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी रहेको जानकारी दिँदै उनले जिल्लाका विभिन्न प्रहरी युनिटहरूबाट अहिलेसम्म पक्राउ गरिएका अधिकांश लागुऔषध प्रयोगकर्ताहरूले उनीबाट नै किन्ने गरेको सूचना दिने गरेको बताए । छोटुले हालसम्म करिब तीन करोड नेपाली रुपैयाँबराबरको १० देखि १२ किलो ब्राउनसुगर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको उनले बताए । उनका अनुसार छोटु र उनको संगठित गिरोहले लागुऔषधको कारोबार गर्दै आएको विषयमा थप विस्तृत अनुसन्धान गरिनेछ ।