साबिक विजेता अर्जेन्टिनाले सोमबार राति समूह ‘जे’को दोस्रो चरणमा अस्ट्रियाको सामना गर्दै छ । यो खेलको विजेता नकआउट चरणमा पुग्नेछ । यसकारण, दुवै टोलीले पुनः एकपटक तीन अंक बटुल्न प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा सानदार जित निकालेको अर्जेन्टिनाले युरोपियन राष्ट्र अस्ट्रियालाई कमजोर आँक्न मिल्दैन ।
अस्ट्रियाले पनि आफ्नो पहिलो खेलमा विश्वकपकै नवप्रवेशी जोर्डनमाथि ३–१ को जित निकालेको थियो । अस्ट्रियासामु विश्वकपकै अनुभवी टोली छ । उसले अर्जेन्टिनाविरुद्ध फरक रणनीति बनाएर खेल्नु पर्नेछ । प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनाको अपराजित यात्रा जारी राख्न पहिलो सेटकै खेलाडी अस्ट्रियाविरुद्ध खेलाउने सम्भावना छ ।
यस खेलमा मेसीले एक गोल गर्दा विश्वकपमा कीर्तिमान बन्नेछ । अहिले उनी क्लोजसँगै १६ गोलको बराबरीमा छन् । मेसी, लौटारो मार्टिनेजलाई एन्जो फर्नान्डेज, एलेक्सेस म्याक एलिस्टर, रोड्रिगो डी पाउल र थिएगो अल्माडाले साथ दिनेछन् । अस्ट्रियाले भने अनुभवी डिफेन्डर तथा कप्तान अलाबाको नेतृत्वमा अर्जेन्टिनालाई स्तब्ध पार्ने योजना बनाएको छ ।
अस्ट्रियाको पहिलो प्रयास रक्षात्मक हो । त्यसपछि काउन्टरमा अर्जेन्टिनामाथि दबाब बनाउने उसको योजना हो । यसअघि सन् १९८० मा अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ ले हराएको थियो । त्यसको एक दशकपछि दुई टोलीबिच १–१ को बराबरीमा खेल समाप्त भएको थियो ।