सत्तारूढ दलदेखि प्रतिपक्षसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले रास्वपालाई राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न, आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन, जनताले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढंगले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन् ।
शुभकामना मन्तव्यका क्रममा नेताहरूले रास्वपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नाराभन्दा पनि नीति, विचार र कार्यसम्पादनमार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औँल्याए । उनीहरूले राम्रो काममा साथ र समर्थन रहने, तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन् । नेताहरूको साझा अपेक्षा थियो– महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरु रास्वपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस् ।
शुभकामना मन्तव्यमा प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति गगनकुमार थापाले महाधिवेशनले वैचारिक स्पष्टता गर्ने विश्वाससहित रास्वपाले लोकतन्त्र र विधिको शासनका मूल्यहरूलाई मन, वचन र कर्ममा लिएर हिँड्ने अपेक्षा गरे । ‘रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, यसमा दुईमत छैन । विगतमा पनि दुईपटक यस्तै जनमत प्राप्त भएको थियो, तर दुर्घटना भयो । दुर्घटनाको मुख्य एक कारण नेताहरूबिचको विवाद र उनीहरूमा देखिएको उन्माद नै थियो । रास्वपामा त्यस्तो विवाद र उन्माद नदेखियोस् । किनकि त्यसको क्षति रास्वपाले मात्रै होइन, अन्य पार्टी, देश, जनता र लोकतन्त्रले पनि व्यहोर्नुपर्छ । त्यसैले पार्टीभित्र विवाद नहोस् र देशमा स्थिरता होस् भन्ने मनैबाट शुभकामना छ,’ उनले भने ।
थापाले कांग्रेस रास्वपाको दुस्मन नभई प्रतिस्पर्धी रहेको प्रस्ट पारे । ‘हामी पनि रास्वपाभन्दा अग्लो बन्न चाहन्छौँ, तर तपाईंहरूको खुट्टा काटेर होइन, आफ्नै खुट्टा बढाएर हो । हामी पनि सफा हुन चाहन्छौँ, तपाईंहरू फोहोर भएर होइन, आफैँ सफल भएर हो,’ उनले भने, ‘रास्वपा नेतृत्वको सरकारले राम्रो गर्दा हामी खुलेर समर्थन गर्छौँ । नराम्रो गर्दा खबरदारी गर्न कहिल्यै खुट्टा कमाउँदैनौँ । खुट्टा भाँच्नुपर्छ भन्ने मान्यताको हामी घोर विरोधी हौँ, कानुनअनुसार गरेको कारबाहीमा हामी घोर समर्थक हौँ । हामीले छिमेकीको सिमाना मिचेका छौँ भन्ने अभिव्यक्तिको हामी विरोध गर्छौँ, त्यो विषयमा रास्वपाले पनि विरोध गर्यो भने हामीले खुलेर प्रशंसा गर्छौँ,’ उनले भने ।
थापाले विगतमा आफ्नो पार्टीले गल्ती गरेको र सच्याउन प्रयास गरेको बताए । ‘१०–१२ वर्षमा मेरो पार्टीसमेत संलग्न भएर गरेको कमजोरीमा शिर निहुर्याउँछु, ग्लानि गर्छु । चुनाव जित्नैपर्ने, सरकारमा जानैपर्ने प्रयास रोक्न खोज्यौँ, गठबन्धन तोड्न खोज्यौँ । सकेनौँ, जेन–जी आन्दोलन भयो । हामीले पार्टीभित्रै विद्रोह गरेका छौँ । बाहिर लड्नभन्दा पार्टीभित्र लड्न गाह्रो हुन्छ,’ उनले भने, ‘तपाईंहरू पनि पार्टीभित्र गलत हुँदा लड्न र विरोध गर्न पछि पर्नुहुँदैन । आफ्नै दलभित्र प्रश्न गर्न नछोडौँ । हामीले आफ्नै नेतालाई भगवान् ठान्दा यो अवस्था भयो । आफ्नै नेतालाई प्रश्न गर्ने साहस गर्नुहोला । गरिबी, अज्ञानता, विभेद, अक्षमता हाम्रा दुस्मन हुन् । यसमा साथ रहन्छ । जहाँ विधि मिचिन्छ त्यसमा प्रश्न गर्ने ठाउँमा कांग्रेस रहन्छ ।’
एमालेका प्रदीप ज्ञवालीले रास्वपाको वैचारिक लाइन स्पष्ट पार्ने दायित्व महाधिवेशनको भएको बताए । ‘महाधिवेशनबाट रास्वपा राजनीतिक रूपमा कहाँ रहन्छ ? सेन्टरमा रहन्छ कि लेफ्ट वा राइटमा ढल्किन्छ भन्ने ठुलो कुरो होइन । तर, संवैधानिक समाजवाद, सामाजिक न्याय, गरिखाने वर्गका लागि उत्तरदायी राज्यको अवधारणा तय गरोस्,’ उनले भने, ‘महाधिवेशनले आन्दोलनलाई संगठनको रूपान्तरण गर्ने र वैचारिक रूपमा संगठित गर्ने दायित्व छ ।’
उनले रास्वपाले पाएको जनादेश सुदृढ लोकतन्त्र र जनताको मुहारमा उज्यालो ल्याउन रूपान्तरण हुनुपर्ने बताए । जनताको श्रीवृद्धि र देशको समृद्धिका लागि काम गर्न अनुरोध गर्दै बाटो बिराउँदा ल्याउने भयावह जोखिमलाई पाइला–पाइलामा ख्याल गर्न अनुरोध गरे । उनले भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा दिने अभिव्यक्तिमा ख्याल गर्नु अनुरोध गरे । उनले सरकारको प्रारम्भिक गतिविधिले प्रश्न खडा गरेको भन्दै ती प्रश्नहरूको जवाफ महाधिवेशनबाट दिन अनुरोध गरे । ‘सुरुवातमा लोकतन्त्र बलियो नबनाउने वा वाचापत्रसँग मेल नखाने घटनाहरू भएका छन् । ती अपवाद बनून्, ब्रेक फेल भएर दुर्घटना हुन सक्छ भन्ने ख्याल राख्नुस्,’ उनले भने ।
नेकपाका वर्षमान पुनले पार्टीका संयोजक प्रचण्ड स्वास्थ्यका कारण आउन नसकेको जानकारी गराउँदै उनको सन्देश पढेर सुनाएका थिए । सन्देशमा महाधिवेशनबाट कस्तो नेतृत्व, विचार, रणनीति र कार्यदिशा तय गरिन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई नै प्रभाव पार्ने उल्लेख छ । ‘सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा समर्थन रहन्छ । त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास छ,’ सन्देशमा भनिएको छ, ‘सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस् । महाधिवेशन पार्टीमाथिको संविधान, लोकतन्त्र र स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकालाई मेटाउन सफल होस् । महाधिवेशनले वैचारिक तथा संगठनात्मक दिशानिर्देश एवं स्पष्टता प्रदान गर्ने गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु ।’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र समृद्ध देश बनाउने जिम्मा रास्वपाले पाएको बताए । ‘हामी फरक कित्तामा रहेर एउटै कुरा गरिरहेका थियौँ । ०४६ पछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भनेर सीमित दल र नेताले लुटतन्त्र मच्चाएका थिए । त्यसबाट देशलाई निकाल्नुपर्छ, परिवर्तन गर्नुपर्छ भनेर वकालत गरेका थियौँ । २१ फागुनको निर्वाचनबाट त्यो परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी रास्वपामा आएको छ,’ उनले भने, ‘जनताको सपना पूरा गर्ने यात्रामा सफता मिलोस् । इतिहासले मौका दिएको छ । यो अवसर चुकाउनुभयो भने घाटा सिंगो देशलाई हुन्छ । जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुहोस् ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन नयाँ युगको थालनीका लागि महत्वपूर्ण सावित होस् भनेर शुभकामना दिए । मुलुकले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको तथा भिन्न जात–जाति र वेशभूषाले समानता चाहिरहेको भन्दै यादवले आजको आवश्यकताअनुसार संविधान संशोधन गर्ने जिम्मेवारी रास्वपाको काँधमा रहेको बताए । ‘लाखौँ युवा रोजगारीका लागि बाहिर जाने अवस्था अन्त्य गर्न आर्थिक समृद्धिको बाटोमा जानुपर्नेछ । त्यसका लागि सुशासन र सामाजिक अन्त्य जरुरी छ,’ उनले भने, ‘मुलुकका विकृति विसंगति अन्त्य गरेर देशलाई नयाँ युगमा लैजान महाधिवेशनबाट सफलता मिलोस् । राम्रो कामका लागि सहकार्य गरेर अगाडि बढ्छौँ । महाधिवेशनले नयाँ नेपाल र नयाँ भविष्यको निर्माण तथा पुरानो विकृतिबाट मुक्ति दिन सकोस् ।’
जनमत पार्टीका अध्यक्ष सिके राउतले देशभरबाट प्रतिनिधिहरू पद र प्रतिष्ठाका लागि होइन, देश बनाउने र देश समृद्ध बनाउन आएको भन्दै त्यसमा आफ्नो साथ रहने बताए । ‘प्रतिस्पर्धीको रूपमा होइन, सहयात्रीको रूपमा शुभकामना दिन आएको हुँ । यो महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो,’ उनले भने । देशलाई परिवर्तन गर्न सुशासन र समृद्धिदेखि नौलो गणतन्त्रसम्म परिकल्पना गरेको, तर आफूलाई जनताले नपत्याएको भन्दै राउतले थपे, ‘तर, तपाईंहरूलाई पत्याउनुभयो । अब देश बनाउनुस् ।’ राउतले जेन–जी आन्दोलनको भाव नबिर्सन पनि अनुरोध गरे । ‘तपाईंहरू जुन आन्दोलनबाट उठेको हो, त्यसका सहिदहरूको सपना नबिर्सिनुस् । त्यो सपना तपाईंहरूबाट पूरा होस्,’ उनले भने ।
रास्वपाले वैकिल्पक तथा नयाँ शक्तिको राजनीतिको सूत्रधारकारूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाईसमेत अथितिकारूपमा आमन्त्रण गरेको थियो । शुभकामना मन्तव्यमा डा.भट्टराईले रास्वपा नयाँ र वैकल्पिकको बलियो शक्ति बनेको भन्दै सत्य र न्यायको पक्षमा उभिने अपेक्षा गरे । उनले सुशासन र समृद्धिको बल सबै नेपालीको तर्फबाट प्राप्त होस् भनी शुभकामना व्यक्त गरे । ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्तिको रूपमा रास्वपा आएको छ । क्रान्ति र परिवर्तन निरन्तर होस् । टंकप्रसाद, पुष्पलाल र विपीले क्रान्ति गरेर प्रजातन्त्र ल्याउनुभयो । हामीले गणतन्त्र ल्याइ पुर्यायौं । अब रबि–बालेनले सुशासन समृद्धिको चुचुरोमा पुर्याउनुस्, विश्वको नमुना बनाउनुस्,’ उनले भने । ‘सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नुस् । सफलता मिल्छ ।
पार्टीभित्र विवाद नहोस् र देशमा स्थिरता होस् भन्ने मनैबाट शुभकामना छ
गगन थापा, सभापति, कांग्रेस
रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, यसमा दुईमत छैन । विगतमा पनि दुईपटक यस्तै जनमत प्राप्त भएको थियो, तर दुर्घटना भयो । दुर्घटनाको मुख्य एक कारण नेताहरूबिचको विवाद र उनीहरूमा देखिएको उन्माद नै थियो । रास्वपामा त्यस्तो विवाद र उन्माद नदेखियोस् । किनकि त्यसको क्षति रास्वपाले मात्रै होइन, अन्य पार्टी, देश, जनता र लोकतन्त्रले पनि व्यहोर्नुपर्छ । त्यसैले पार्टीभित्र विवाद नहोस् र देशमा स्थिरता होस् भन्ने मनैबाट शुभकामना छ ।