साबिक विजेता वडा नम्बर ५ लाई पराजित गर्दै कैलाश गाउँपालिका वडा नम्बर ३ ले चौथो उपाध्यक्ष कप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई २५–१२, २२–२५, २५–२३ र २५–२१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधि आफ्नो नाममा लेखाएको हो। उपाधिसँगै वडा ३ ले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा ५ ले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका नौवटै वडाका टोलीहरूको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइबाले जानकारी दिए।
प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। उत्कृष्ट प्रशिक्षकको उपाधि वडा ३ का श्रीराम महर्जनले प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा ३ का नवराज मुक्तान घोषित भए।
यसैगरी, उत्कृष्ट ब्लकर वडा ५ का हिरा लो, उत्कृष्ट स्पाइकर वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा ५ का विजय तामाङ, उत्कृष्ट सेटर वडा ५ का गोविन्द मुक्तान तथा उदयमान खेलाडी वडा ८ का विधान थिङ पुरस्कृत भए।
खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइबाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खेलकुद स्वास्थ, अनुशासन र र सक्षम समाज निर्माणको महत्वपूर्ण आधार भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उनले गाउँपालिकाभित्र रहेका खेल मैदानहरूको स्तरोन्नति, नयाँ खेल पूर्वाधार निर्माण, विद्यालयस्तरीय तथा पालिकास्तरीय प्रतियोगिता आयोजना, खेल सामग्री वितरण तथा प्रतिभावान खेलाडीको प्रोत्साहनका लागि निरन्तर काम भइरहेको जानकारी दिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, नेतृत्व विकास र सामाजिक एकताको आधारका रूपमा लिइएको बताए।