नृसिंहधाम पुरुषोत्तम महामहोत्सवमा चार करोड ४४ लाख रुपैयाँ संकलन

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाममा भएको पुरुषोत्तम महामहोत्सवमा चार करोड ४४ लाख ४२ हजार ८९९ रुपैयाँ दान संकलन भएको छ। नृसिंहधाम विकास समितिले पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक गरेको हो।

तीन करोड ९७ लाख ३७ हजार ८९९ रुपैयाँ दान संकलन र ४७ लाख पाँच हजार प्रतिबद्धता गरी चार करोड ४४ लाख ४२ हजार ८९९ रुपैयाँ संकलन भएको नृसिंहधाम विकास समितिका कोषाध्यक्ष विष्णुहरि उप्रेतीले बताए।

त्यसैगरी, महामहोत्सवमा एक करोड ५५ लाख ८१ हजार ३५ रुपैयाँ खर्च भएको छ। खर्च कटाएर दुई करोड ८८ लाख ६१ हजार ८६४ रुपैयाँ बचत रहेको उनले बताए। सञ्चार क्षेत्रमा ३२ लाख, इन्टरनेटमा एक लाख ४६ हजार, स्टेसनरीमा ५९ हजार ७५० रुपैयाँलगायतका खर्चहरू अधिक देखिएको भन्दै पत्रकारहरूले जिज्ञासा राखेका थिए। एउटै टेलिभिजनलाई २६ लाखसम्म दिए पनि धादिङका सञ्चारमाध्यमहरूलाई नसमेटिएकोप्रति गुनासो गरेका छन्।

वैदिक सनातन परम्पराअनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एक मात्र पीठका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनाको अवसर पारेर जेठ महिनाभर महोत्सव चलेको थियो। धादिङलगायत नेपालभर र छिमेकी मुलुक भारतलगायत अन्य देशहरूबाट नृसिंहधाम दर्शनका लागि आएका थिए। एक महिनासम्म चलेको महामहोत्सवमा ३३ लाख भक्तजनले दर्शन गरेको पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले बताए।

स्कन्द र बराह पुराणमा समेत उल्लेखित नृसिंहधाम भगवान् नृसिंहदेव प्रकट भई दिव्यलीला गरेको पवित्र भूमिका रूपमा परिचित छ। परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिँदै आएको उनले बताए। नृसिंहधाम विकास समितिका अध्यक्ष भूमि कँडेलले सबैको साथ सहयोगले महामहोत्सव सम्पन्न भएको बताए। धेरै कमी–कमजोरी भएका छन् । सिकाइको रूपमा लिँदै आगामी दिनमा व्यवस्थित रूपमा महोत्सव गर्ने उनले बताए । नृसिंहधामले त्रिपुरासुन्दरी गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान दिएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताए।

सुझावित समाचार