मकवानपुर प्रहरीले लागुऔषध कारोबार नियन्त्रणका लागि सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’का क्रममा खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट विभिन्न परिमाणमा खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त टोलीले हेटौँडा बजार क्षेत्रका विभिन्न स्थानमा लागुऔषध बिक्री–वितरण तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा शुक्रबार अपरेसन सञ्चालन गरेको थियो ।
प्रहरीका अनुसार पहिलो पक्राउ हेटौँडा उपमहानगरपालिका– ४, नारायणी महलनजिकको भित्री गल्लीबाट गरिएको हो । अपराह्न करिब १ बजे हेटौँडा– १, पानसुकेचोकमा डेरा गरी बस्ने १८ वर्षीय अशोक गुरुङको साथबाट ५२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र नाै हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी अपराह्न १ः४० बजे हेटौँडा– ४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँको कोठामा खानतलासी गर्दा १२ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा १२ हजार ६ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ। यसैक्रममा साँझ करिब ७ बजे हेटौँडा– ५ पिप्ले क्षेत्रबाट २४ वर्षीया अन्जली तामाङ भनिने क्रान्तिदेवी घलानलाई पक्राउ गरिएको छ ।
उनको साथबाट पाँच ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र चार हजार पाँच सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले पछिल्लो समय जिल्लामा बढ्दै गएको लागुऔषध कारोबार नियन्त्रणका लागि विशेष निगरानी तथा अभियान सञ्चालन गर्दै आएको छ ।