सप्तरीको पश्चिम–उत्तरी क्षेत्रमा रहेको सुरुंगा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि कुल घरधुरीमध्ये कम्तीमा ५० प्रतिशतलाई ‘एक घर एक रोजगारी’ कार्यक्रममार्फत रोजगारीको अवसर उपलब्ध गराउने नीति अघि सारेको छ।
शनिबार आयोजित १७औँ नगरसभामा नगरप्रमुख गीता चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरभित्र रहेका करिब १२ हजार घरधुरीमध्ये आधाभन्दा बढीलाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको जानकारी दिइन्।
आँपको प्रमुख उत्पादन क्षेत्रका रूपमा परिचित सुरुंगामा विषादीरहित आँप उत्पादनलाई प्राथमिकता दिइने भएको छ। नगरपालिकाले आँपको प्रशोधन, ब्रान्डिङ र बजारीकरणलाई स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा कृषि पर्यटनसँग आबद्ध गर्दै आयआर्जन र रोजगारी सिर्जनामा जोड दिने नीति लिएको छ।
गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आगामी वर्ष २० जना नयाँ लघु उद्यमी उत्पादन गरिने नगरपालिकाले जनाएको छ। साथै लागुऔषध दुर्व्यसन, घातक रोग तथा कुलतमा फसेका युवालाई लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने र ‘जित्दै छ सुरुंगा, जित्दै छ’ नारासहित विद्यालय तहदेखि खेलकुद प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
ज्येष्ठ नागरिकका अनुभव र सिप नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरिनुका साथै लैंगिक समानता, बाल संरक्षण र सामाजिक समावेशीकरणलाई सबै नगरस्तरीय कार्यक्रममा मूलप्रवाहीकरण गरिने भएको छ। ‘नो डेलिभरी होम’ घोषणा अभियानलाई निरन्तरता दिइने तथा दीर्घरोगीलाई उपलब्ध गराइने सहुलियत जीविकोपार्जन कार्यक्रमलाई थप व्यवस्थित बनाइने नगरपालिकाले जनाएको छ।
कुपोषण न्यूनीकरणका लागि गर्भवती महिला, बालबालिका तथा किशोरीलक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलनपछि सुरु भएको जग्गाधनी पुर्जा वितरण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ।
८९ करोड १० लाख रुपैयाँको बजेट
नगरसभाका अध्यक्षसमेत रहेका नगर उपप्रमुख रुद्रबहादुर कार्कीले आगामी आर्थिक वर्षका लागि ८९ करोड १० लाख ८० हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका छन्।
बजेटमा आन्तरिक आय, राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा विभिन्न संघीय–प्रदेश अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। कुल बजेटमध्ये ३४ करोड ८४ लाख ८० हजार रुपैयाँ निसर्त आय तथा ५४ करोड २६ लाख रुपैयाँ ससर्त तथा अन्य आयबाट प्राप्त हुने अनुमान गरिएको छ।
व्ययतर्फ ११ वटै वडाका लागि ६ करोड ७३ लाख रुपैयाँ, प्रशासनिक खर्चका लागि १४ करोड रुपैयाँ, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि एक करोड १० लाख ८० हजार रुपैयाँ, साझेदारी तथा समपूरक कार्यक्रमका लागि दुई करोड रुपैयाँ र चालू आर्थिक वर्षको दायित्व भुक्तानीका लागि पाँच करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी स्वास्थ्य शाखाका लागि ८० लाख, शिक्षा तथा खेलकुद शाखाका लागि दुई करोड ३६ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका लागि १३ लाख, कृषि तथा पशुपन्छी विकास शाखाका लागि २२–२२ लाख, खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि ५० लाख तथा रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।