नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीसम्बद्ध बुद्धिजीवी संगठनको राष्ट्रिय एकता भेलालाई शनिबार सम्बोधन गर्दै उनले एकताको हल्लाका पछाडि नलाग्न आग्रह गरे ।
एकताको सम्भावना नरहेको भन्दै उनले भ्रममा नपर्न आग्रह पनि गरे । ‘एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीमा पनि त्यसको प्रभाव पर्ने रहेछ । फोनको जवाफ दिँदादिँदै हैरान भएको छु । यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ ? सम्भवै छैन । यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुस्,’ उनले भने ।
देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्दै अघि जाने उनले बताए । राष्ट्रियता, जनजीविका, जनताको हित र गणतन्त्रको रक्षा गर्ने जिम्मा नेकपाको काँधमा आएको उनले बताए । वैज्ञानिक समाजवाद र नेपाली विशेषताको समाजवादको नारामा अगाडि बढ्ने पनि उनले बताए । नेता वर्षमान पुनले जनताको पक्षमा लड्ने शक्तिलाई नै जनताले बहुमत दिने बताए ।
जनताको पक्षमा लड्न सक्ने पार्टी नेकपा भएको भन्दै उनले आगामी निर्वाचनमा दुईतिहाइ नेकपाले ल्याउन सक्ने दाबी गरे । करिब दुईतिहाइको रास्वपा सरकारले राष्ट्रियता, संवैधानिक अधिकारमाथि अंकुश र सदनलाई हेप्ने काम गरेको भन्दै उनले त्यस प्रवृत्तिविरुद्ध लड्ने बताए ।