हाँस पाल्ने पोखरीमा नुहाउने क्रममा डुबेर कलैयामा दुई बालिकाको मृत्यु

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

बाराको कलैया उपमहानगरपालिका– ६, पर्सा टोलस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो भएको उक्त घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– ६, पर्सा टोलनिवासी विजय मण्डलकी ६ वर्षीया छोरी  सिर्जनाकुमारी मण्डल र सोही स्थानका सञ्जय मण्डलकी पाँच वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो करिब १:३० बजेको समयमा स्थानीय दीपेन्द्र साहले हाँसपालनका लागि प्रयोग गर्दै आएको पोखरीमा नुहाउने क्रममा दुवै बालिका डुबेका थिए। पोखरीमा डुबेर अचेत अवस्थामा पुगेका बालिकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो।

तर, अस्पतालमा उपचारका लागि ल्याइएलगत्तै चिकित्सकले परीक्षण गर्दा दिउँसो करिब २ बजेको समयमा दुवै बालिकाको मृत्यु भइसकेको पुष्टि गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराले घटनास्थलबाट आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान पूरा गरी दुवै बालिकाको शव प्रादेशिक अस्पताल कलैयामा शल्य परीक्षण गरिएको थियो। 

शल्य परीक्षण सम्पन्न भएपछि शनिबार राति करिब ८ बजे मृतक सिर्जनाकुमारी मण्डलको शव उनका बुबा विजय मण्डल तथा अञ्जलीकुमारी मण्डलको शव उनका बुबा सञ्जय मण्डलले बुझेर लगेका छन्।

See More On

सुझावित समाचार