जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्डफ्लुको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उनलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको छ ।
कोषको अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई शुक्रबार चिडियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार देखिएको भन्दै उनीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रीको सचिवालयले जनाएको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको प्रशासनिक कार्य व्यवस्थापनका लागि वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
३ सदस्यीय छानबिन समिति गठन चिडियाखानामा फैलिएको बर्ड फ्लुको वास्तविक कारण पत्ता लगाउन र रिपोर्टिङमा भएको लापरबाहीबारे अनुसन्धान गर्न कोषले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित ३ सदस्यीय समितिका सदस्यमा प्रशासन प्रमुख हरिविक्रम सिंह प्रशासन र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री रहेका छन्। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
जनावरमा समेत फैलियो संक्रमण चिडियाखानामा करिब १० दिनअघि देखि नै पन्छी र जनावरहरू मर्न थालेका थिए । चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि पशु सेवा विभागमा पठाइएको नमुना परीक्षणबाट बर्ड फ्लु पुष्टि भएको थियो ।
परीक्षणका क्रममा चराचुरुंगी तर्फ बकुल्ला, लाटोकोसेरो र गिद्धमा संक्रमण देखिएको छ भने गम्भीर कुरा, जनावरतर्फ समेत नीरबिरालो र चरीबाघमा बर्ड फ्लु फेला परेको छ ।
रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा र स्थिति नाजुक बन्दा समेत प्रमुख साहले केन्द्रमा कुनै रिपोर्टिङ नगरेका कारण कोषले उनीमाथि कडा कदम चालेको हो । चिडियाखानामा भएका श्रृङ्खलाबद्ध घटना र बर्ड फ्लु जस्तो जनस्वास्थ्य तथा वन्यजन्तु सुरक्षासँग जोडिएको संवेदनशील विषयलाई बेवास्ता गर्नु नै साहको छानबिनको मुख्य कारण रहेको एनटिएनसीेले जनाएको छ।