उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुल भित्री सडक खण्डबाट प्रहरीले १७ किलोभन्दा बढी गाँजासहित एकजनालाई पक्राउ गरेको छ भने एकजना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार गएको शुक्रबार राति प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले उदयपुरगढीतर्फबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँचका क्रममा पक्राउ गरेको हो।
चेकजाँचको क्रममा मोटरसाइकलचालकले प्रहरीको संकेत अटेर गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए। उनले भने, ‘भाग्ने क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–६, बाउनीटार घर भई हाल कटारी नगरपालिका–४, सिम्ले बस्दै आएका ३० वर्षीय नरबहादुर पुलामीमगर मोटरसाइकलबाट लडेका थिए। त्यसपछि प्रहरीले पक्राउ गरेको हो।’
मगरको साथबाट १७ दशमलव ४० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। प्रहरीले लागुऔषध गाँजासहित मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले सूचना अधिकारी बमले जानकारी दिए। यता, घटनापछि फरार भएका मोटरसाइकलचालक र मोटरसाइकलको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।