कुइनेखानीलाई अर्गानिक गाउँ घोषणा

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

म्याग्दीको रघुगंगा गाउँपालिकाले प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कुइनेखानी गाउँलाई अर्गानिक गाउँ घोषणा गरेको छ । रघुगंगा गाउँपालिका–८ मा पर्ने छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले अर्गानिक गाउँ बनाउने घोषणा गरेको हो । 

गाउँपालिकाको २१ औँ गाउँसभाबाट कुइनेखानीलाई अर्गानिक गाउँ घोषणा गरिएको छ। पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा आबश्यक प्रवन्ध मिलाएर कुइनेखानीमा परिक्षण योजनाको रुपमा अर्गानिक गाउँ बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार,पहिलो वर्ष यस कार्यक्रमका लागि रु १ लाख बजेट विनियोजन गरिएको छ । यस बजेटबाट कृषकहरुले उत्पादन गरेको प्राङ्गारिक मलमा शतप्रतिशत अनुदान दिइनेछ । कुइनेखानीमा आलु, जौ, मकै, कोदो खेती हुने गरेको छ । यस अभियानमार्फत स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको गुणस्तर वृद्धि, स्वस्थ खाद्य पदार्थको उत्पादन तथा कृषकको आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी कृषि उत्पादनमा रासायनिक पदार्थको नियन्त्रण गर्न पाइलट प्रोजेक्टका रुपमा अर्गानिक गाउँ बनाउने अभियानको थालनी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले रैथाने बालीको उत्पादन, प्रवर्द्धन र बजारीकरणको लागि समेत जोड दिएको छ । स्थानीय स्तरमा हुने कृषि बालीको पहिचान गर्दै उत्पादन बढाएर आयआर्जन बढाउन विशिष्टिकृत रुपमा एक वडा एक उत्पादन कार्यक्रम समेत सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । 

आगामी वर्षका लागि पारित भएको बजेट वक्तव्यमा एक वडा एक उत्पादन कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए। गाउँसभाले कृषि उत्पादन बढाउनका लागि माटो स्वास्थ्य सुधार, कृषि तालिम, कृषिमा अनुदानलगायतका कार्यक्रमलाई समेत पारित गरेको छ । आगामी वर्षका लागि गाउँसभाबाट कृषि क्षेत्रमा रु ५५ लाख ७५ हजार बजेट विनियोजन भएको छ । 
 

सुझावित समाचार