हिजोआजको संगीत बजारमा धेरै कलाकार छिट्टै चर्चित हुने दौडमा रहेका हुन्छन् । सामाजिक सञ्जालमा भाइरल हुने गीतहरू दिनहुँ आइरहेका छन् । तर, यही भिडमा केही कलाकार यस्ता पनि छन्, जो लोकप्रियताभन्दा साधनालाई बढी महत्व दिन्छन् । त्यहीमध्येकी एक हुन्, गायिका सलिना विश्वकर्मा ।
नयाँ पुस्ताकी प्रतिभाशाली गायिकाका रूपमा परिचित सलिना शास्त्रीय संगीतको गहिरो अध्ययन र अभ्यासमा समर्पित छिन् । संगीतमा स्नातकोत्तर अध्ययन गरिरहेकी उनी आफूलाई निरन्तर सिकाइको यात्रामा राख्न रुचाउँछिन् । उनका लागि संगीत केवल मनोरञ्जनको माध्यम होइन, जीवनको अनुशासन र साधना हो ।
चलचित्र ‘उनको स्विटर’को गीत ‘चाहिनेजो जिन्दगानीमा’ टिकटक, युट्युबजस्ता प्लाटफर्ममा ट्रेन्डिङको शीर्ष स्थानसम्म पुग्यो । आमश्रोतामाझ निकै लोकप्रिय बन्यो । तर, त्यो सफलतापछि पनि सलिना चर्चाको चमकभन्दा अभ्यासको कोठामै बढी रमाइरहेकी छिन् । किनकि उनलाई लाग्छ, राम्रो संगीतको जग बलियो साधनामै टिकेको हुन्छ ।
चितवनमा जन्मिएकी सलिनालाई सानैदेखि गीत गाउन मन पर्थ्यो । घरमा पेसागत रूपमा संगीतको पृष्ठभूमि नभए पनि सांगीतिक माहोल भने थियो । बाल्यकालदेखि नै गायिका बन्छु भन्ने सोच्थिन् । गीत गाउनु उनका लागि रुचि मात्र होइन, आत्मिक आनन्दको स्रोत पनि थियो ।
सलिना सानै उमेरदेखि गायिका अञ्जु पन्तका गीत गाउँथिन् । आशा भोसले, लता मंगेसकरहरूका गीत पनि सुन्थिन् । सँगै अभ्यास पनि गर्थिन् । उनको सांगीतिक यात्रा रियालिटी सोहरूबाट सुरु भयो । ‘नेपाल आइडल’ पहिलो सिजनमा सहभागी भइन् । तर, केही चरण पार गरे पनि भोटिङ राउन्डअघि नै यात्रा टुंगिन्थ्यो । धेरैले उनलाई नेपाल आइडलले ‘चिन्न नसकेको प्रतिभा’ भनेर चर्चा गरे । तर, सलिना आफैँ भने त्यसलाई फरक ढंगले हेर्छिन् । भन्छिन्, ‘त्यतिवेला मैले संगीतलाई गहिरोसँग सिकेकै थिइनँ । बाहिरिनु स्वाभाविक थियो । रियालिटी सोले मेरो कन्फिडेन्स बढाएको छ ।’
रियालिटी सोमा सहभागी भएपछि सलिनाले संगीतलाई अझ गम्भीर रूपमा लिन थालिन् । ती अनुभवले उनलाई आफ्ना कमजोरी पहिचान गर्न मद्दत गर्यो । संगीत सिकाइविना राम्रो गायिका बन्न नसकिने निष्कर्षमा पुगिन् । औपचारिक रूपमा संगीत अध्ययन सुरु गरिन् । उनी सम्झिन्छिन्,‘नेपाल आइडलमा त एकपटक प्रयास गरौँ भनेर गएकी थिएँ । त्यही अनुभवले मलाई संगीत सिक्नुपर्छ भन्ने महसुस गरायो ।’
त्यसपछि उनले चितवनकै श्रुतिसंगीत पाठशालामा गुरु चन्द्र घलेसँग संगीत सिक्न थालिन् । सिकाइसँगै चितवनमा हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन थालिन् । विशेषगरी गजल कार्यक्रममा उनी प्रस्तुति दिन्थिन् ।
जति संगीत सिक्दै गइन्, उति नै संगीतप्रतिको भोक बढ्दै गयो । त्यसपछि उनले नेपाल आइडलको दोस्रो सिजनमा पुनः सहभागिता जनाइन् । यसपटक उनी थिएटर राउन्डसम्म पुगिन् । तर, त्यही यात्राले उनलाई आफूभित्र अझै धेरै सिक्न बाँकी रहेको अनुभूति गरायो । ‘त्यतिवेला मैले आफैँलाई प्रश्न गरेँ, मेरो गायनमा के अभाव छ ? त्यसपछि संगीतलाई गहिरोसँग बुझ्न र पढ्न मन थियो,’ उनी भन्छिन् । पछि उनले नेपाल स्टारमा पनि प्रतिस्पर्धा गरिन् । प्रतियोगिताको टप–१४ सम्म पुगिन् । तर, भोटिङ चरणमा पुगेपछि उनको यात्रा रोकियो । यद्यपि, ती असफलताले उनलाई निराश बनाएन । बरु संगीतप्रतिको समर्पणलाई अझ बलियो बनायो ।
सलिनालाई सानैदेखि काठमाडौं गएर संगीत सिक्ने इच्छा थियो । उनको मनमा एउटा विश्वास थियो– गायिकाको सपना पूरा गर्न राजधानी पुग्नैपर्छ । त्यसैले कक्षा १२ को अध्ययन पूरा गरेपछि उनी काठमाडौं आइन् । काठमाडौंमा उनको भेट शास्त्रीय संगीतका गुरु जोनिषा पौडेल र कुन्दन पाठकसँग भयो । सलिना आफ्नो सांगीतिक जीवनमा उनीहरूको भूमिकालाई विशेष महत्व दिन्छिन् । ‘उहाँहरू मेरो सांगीतिक गडफादर र गडमदरजस्तै हुनुहुन्छ । उहाँहरूसँग भेट भएपछि संगीतलाई अझ गहिरोसँग बुझ्ने अवसर पाएँ ।’ उनी भन्छिन् ।
त्यसपछि सलिना पद्मकन्या क्याम्पसमा स्नातक तहमा भर्ना भइन् । अध्ययनसँगै शास्त्रीय संगीतको साधनालाई पनि निरन्तरता दिइन् । कक्षा, रियाज र प्रस्तुति, यी तीनैलाई सँगै अघि बढाउँदै उनले आफ्नो सांगीतिक यात्रालाई थप मजबुत बनाइन् । विगत पाँच वर्षदेखि उनी काठमाडौंमा बसेर संगीत अध्ययनमा सक्रिय छिन् । उनका लागि शास्त्रीय संगीत नेपाली संगीतको आधार हो । त्यसैले आधुनिक संगीतसँगै यसको जग बलियो हुन आवश्यक रहेको उनी विश्वास गर्छिन् ।
सलिनाको सांगीतिक यात्रामा गायक सुजन चापागाईंसँगको सहकार्य अर्को महत्वपूर्ण मोड बन्यो । उनी केही समयदेखि सुजनको ब्यान्डमा महिला भोकलिस्टका रूपमा आबद्ध भइन् । उनी अस्ट्रेलियाको सांगीतिक कार्यक्रमा पनि पुगिन् । उनको स्वर अझ धेरै श्रोतामाझ पुग्यो ।
‘चाहिनेजो जिन्दगानीमा’ मात्र होइन, चलचित्र ‘उनको स्विटर’ कै शीर्ष गीत ‘फूलहरू...’ मा पनि उनले स्वर दिएकी छिन् । यी गीतले श्रोताको मन जितेका छन् । चलचित्र ‘कर्मा’को साइड टाइटल गीतमा समेत उनको स्वर सुन्न सकिन्छ ।
हालसम्म उनले दुई दर्जनभन्दा बढी गीत रेकर्ड गरिसकेकी छन् । तीमध्ये दर्जनजति गीत सार्वजनिक भइसकेका छन् । संख्याभन्दा गुणस्तरमा विश्वास गर्ने सलिना हरेक गीतलाई जिम्मेवारीका साथ गाउन चाहन्छिन् । मिडियाको चमकधमक र प्रचार–प्रसारबाट उनी अलि टाढै बस्न रुचाउँछिन् । उनलाई विश्वास छ, कलाकारको वास्तविक परिचय कामले दिनुपर्छ ।
सलिना आज युवा पुस्तामाझ लोकप्रिय गायिका मात्र होइनन्, शास्त्रीय संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने एक माध्यम पनि बनेकी छिन् । उनी भन्छिन्, ‘शास्त्रीय संगीत मेडिटेसन पनि हो । शास्त्रीय संगीतको ज्ञानविना संगीत अघि बढाउन सक्दैनजस्तो लाग्छ । शास्त्रीय संगीतकै माध्यमबाट नेपाली संगीतलाई योगदान दिने सोचिरहेकी छु ।’
अहिलेको सफलताले उनलाई थप जिम्मेवारी महसुस गराएको छ । संगीत क्षेत्रमा आफ्नो योगदान दिने, निरन्तर सिक्ने र दर्शकलाई उत्कृष्ट सिर्जना पस्कने नै सलिनाको लक्ष्य हो । शास्त्रीय संगीतको जगमा उभिएर आधुनिक नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याउने उनको सोच छ ।