रास्वपा महाधिवेशनको कार्यतालिका सार्वजनिक

उद्घाटन सत्रमा रवि र बालेनको सम्बोधन

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण
  • बन्दसत्रमा प्रतिवेदनमाथि छलफल र त्यसपछि विद्युतीय मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ । आइतबारदेखि चितवनमा सुरु हुने महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम सुरु भइसकेको छ ।

चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आइतबार दिउँसो १ बजे उद्घाटन सत्र आयोजना हुनेछ भने बन्दसत्र औद्योगिक प्रदर्शनी स्थलको सभाहलमा सञ्चालन गरिनेछ । उद्घाटन सत्रलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ । 

महाधिवेशनको कार्यतालिका, विधान संशोधन तथा विभिन्न प्रतिवेदन अनुमोदनका लागि केन्द्रीय समितिको अन्तिम बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, मन्त्री तथा केन्द्रीय नेताहरू चितवन पुग्ने क्रम जारी छ । सभापति लामिछाने शनिबार बिहान हवाईमार्गबाट चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । 

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशन स्थलमा हल सजावट, मञ्च निर्माण, ब्यानर व्यवस्थापन, प्रतिनिधि दर्ता, पर्यवेक्षक तथा स्वयंसेवक परिचालनलगायतका तयारी अन्तिम चरणमा पुगेका छन् । उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, नेकपा, राप्रपा, जसपा नेपाल, नेपाल मजदुर किसान पार्टी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ । 

केही नेताले सहभागिताको पुष्टि गरिसकेको र अन्यसँग समन्वय जारी रहेको बुर्लाकोटीले बताए । यद्यपि, श्रम संस्कृति तथा सामाजिक अभियानका अध्यक्ष हर्क साम्पाङले सरकारले भारतसँगको सीमा विवादसम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे रास्वपाले धारणा सार्वजनिक नगरेको भन्दै महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् । 

महाधिवेशनको दोस्रो दिन बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति तथा विचार विभागको प्रतिवेदन र सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

महामन्त्री बुर्लाकोटीका अनुसार प्रतिवेदनमाथिको छलफल सम्पन्न भएपछि हालको केन्द्रीय समिति विघटन भई कार्यव्यवस्था समितिमा रूपान्तरण हुनेछ । त्यसपछि निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिनेछ र आयोगले बाँकी निर्वाचन प्रक्रिया सञ्चालन गर्नेछ ।

महाधिवेशनका लागि प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिको पहिचान सुनिश्चित गर्न छुट्टाछुट्टै परिचयपत्रको व्यवस्था गरिएको छ । यातायात व्यवस्थापनका लागि पार्टीको यातायात विभाग तथा उपसमितिले समन्वय गरिरहेको छ भने महाधिवेशनस्थल र आवासस्थलबिच सटल बस सञ्चालन गरिनेछ ।

सुरक्षाका लागि पार्टीको र्यापिड एक्सन टिम र स्वयंसेवक परिचालन गरिनेछ । स्वास्थ्य सेवाअन्तर्गत एम्बुलेन्स, प्राथमिक उपचार तथा चिकित्सकको व्यवस्था पनि गरिएको छ ।

रास्वपाले सातै प्रदेशका प्रतिनिधिका लागि दर्ता डेस्क सञ्चालन गरिसकेको जनाएको छ । हाल काठमाडौंमा सञ्चालन भइरहेको दर्ता प्रक्रिया शनिबारदेखि चितवनमा पनि सुरु हुने महामन्त्रीले बताए । 

वरिष्ठ नेता शाह आइतबार चितवन पुगेर उद्घाटन सत्रमा सहभागी हुनेछन् । उनी बन्दसत्रमा समेत सहभागी हुने कार्यक्रम तय भएको महामन्त्री बुर्लाकोटीले बताए ।

महाधिवेशनमा चार करोडहाराहारी खर्च
रास्वपाले महाधिवेशन सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रारम्भिक अनुमान सात करोड रुपैयाँ पुगे पनि खर्च कटौतीपछि बजेट घटाइएको पार्टीको भनाइ छ । प्रतिनिधिबाट प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दर्ता शुल्क लिइनेछ, जसबाट कुल खर्चको करिब एकतिहाइ रकम संकलन हुने अपेक्षा गरिएको छ । बाँकी रकम शुभेच्छुक तथा समर्थकको सहयोगबाट जुटाइने पार्टीले जनाएको छ ।

नेतृत्व चयनका लागि विद्युतीय मतदान
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इभिएम) प्रयोग गरिनेछ । यसका लागि ८० वटा मतदान मेसिन प्रयोग गरिनेछन् भने १० वटा मेसिन परीक्षण र अभ्यासका लागि छुट्याइएको छ ।

बुर्लाकोटीका अनुसार इभिएम प्रयोग गर्दा करिब तीन हजार प्रतिनिधिको मतदान प्रक्रिया छिटो सम्पन्न हुने र मतगणनाको नतिजा दुई घण्टाभित्र सार्वजनिक गर्न सकिनेछ । विदेशमा रहेका प्रतिनिधिलाई भने पार्टीको मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ ।

See More On

सुझावित समाचार