विराटनगर महानगरमा घर निर्माणमा कडाइ : नाला जाम र सडक क्षति रोक्न सातबुँदे मापदण्ड अनिवार्य

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ । अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सातवटा अनिवार्य सर्त पालना गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा पेटीमा राख्न पाइनेछैन। साथै निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्नेछ ।

निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ। निर्माण कार्यका क्रममा मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । महानगरले नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको टुटफुटको व्यवस्थापन अनिवार्य गरेको छ । यी कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने जनाइएको छ ।

त्यसैगरी, महानगरका कर्मचारीले अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको भेटिएमा नियमअनुसार जरिवाना गरिनेछ। निर्माणजन्य फोहोर सडक तथा सडककिनारमा जथाभावी थुपार्न पनि रोक लगाइएको छ। निर्माणकर्ताले यी सबै सर्त पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ। मापदण्ड उल्लंघन भएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार घरनक्सा पास प्रक्रियासँगै सरसफाइका मापदण्डलाई अनिवार्य बनाउँदा नाला जाम हुने समस्या २० देखि २५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। महानगरले निर्माण गतिविधिलाई व्यवस्थित बनाउँदै सहरी सरसफाइ र पूर्वाधार संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छ।
 

सुझावित समाचार